Thu. May 2nd, 2024

‘मनिराज वाङ्मय पुरस्कार’ त्रिपाठी र सुवेदीलाई प्रदान

साहित्यकार एवं भाषाविद् प्रा. डा. वासुदेव त्रिपाठी र संस्कृतिविद् प्रा. डा. चूडामणि बन्धुलाई ‘मनिराज वाङ्मय पुरस्कार’बाट पुरस्कृत गरिएको छ ।  

सुदूरपश्चिम, २०८० चैत २७ गते मंगलबार । साहित्यकार एवं भाषाविद् प्रा. डा. वासुदेव त्रिपाठी र संस्कृतिविद् प्रा. डा. चूडामणि बन्धुलाई ‘मनिराज वाङ्मय पुरस्कार’बाट पुरस्कृत गरिएको छ ।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएबापत वि.सं. २०७८ को मनिराज वाङ्मय पुरस्कार त्रिपाठीलाई र वि.सं. २०७९को मनिराज वाङ्मय पुरस्कार बन्धुलाई प्रदान गरिएको हो ।

आज धनगढीमा नेपाली साहित्य, संस्कृति प्रतिष्ठान कैलालीद्वारा आयोजित कार्यक्रममा जनही रु एकलाख र सम्मानपत्रसहितको उक्त पुरस्कार प्रदान गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले लोकको हितका पुजारी साहित्यकारले समाजलाई सही मार्गमा डोर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी ‘प्रभात’ले नेपालको सांस्कृतिक वैभवलाई अगाडि बढाउनमा पुरस्कृत व्यक्तित्वबाट ठूलो प्रेरणा मिलेको बताउनुभयो । उहाँका अनुसार पुरस्कार प्रदान गर्नका लागि स्रष्टाको चयन गर्न प्रतिष्ठानले गठन गरेको तीन सदस्यीय समितिले दिएको सिफारिसका आधारमा साहित्यकारद्वयलाई पुरस्कृत गरिएको हो ।

धनगढी निवासी महाकाव्यकार एवं सहित्यकार मनिराज जोशीको नाममा उहाँका परिवारका सदस्य गोविन्दराज जोशी, तारा रोस्यारा र वसन्तराज जोशीले संयुक्तरुपमा उक्त पुरस्कार स्थापना गर्नुभएको थियो ।

यसअघि यो पुरस्कार राष्ट्र कवि माधवप्रसाद घिमिरे, साहित्यकार दधिराज सुवेदी, लोकेन्द्रबहादुर चन्द र डा तुलसीप्रसाद भट्टलाई प्रदान गरिसकिएको छ । वि.सं. २०६८ मा स्थापना गरिएको प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवं सम्वर्द्धनका लागि विविध गतिविधि गर्दै आएको छ ।

सोही कार्यक्रममा साहित्यकार लक्ष्मीकान्त जोशी र नारा जोशीलाई क्रमशः जयराज पन्त र नृपबहादुर स्वाँर पुरस्कारबाट पुरस्कृत गरिएको थियो । रासस

Facebook Comments