Tue. Dec 24th, 2024

राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता   

भारतमा आगामी लोकसभाका लागि हुन लागेको आमनिर्वाचनका लागि विपक्षी नेता राहुल गान्धीले केरलाको वायनाडबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।     

नयाँदिल्ली, २०८० चैत २१ गते बुधबार । भारतमा आगामी लोकसभाका लागि हुन लागेको आमनिर्वाचनका लागि विपक्षी नेता राहुल गान्धीले केरलाको वायनाडबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।     
    
उम्मेदवारी दर्ताका क्रममा गान्धीका हजारौं समर्थक उहाँकै साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।    
    
गान्धी परिवारको लामो विरासत बोकेका ५३ वर्षीय राहुल गान्धीको काँग्रेस आई पार्टी पछिल्ला दुई आमनिर्वाचनमा नराम्रोसँग पराजित भएको थियो ।    
    
यसपटकको चुनावमा पनि भारतीय जनता पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीसामु काँग्रेस आई कमजोर रहेको अनुमान गरिएका छन् । मोदी विरोधी मोर्चाको नेतृत्व गरिरहेका राहुल गान्धीलाई यसपटक पनि बहुमत ल्याउनु फलामको च्यूरा चपाएसरह रहेको छ । तैपनि दक्षिणी राज्य केरलाको वायनाडमा उहाँको समर्थनमा धेरै मानिस उपस्थित भएका छन् ।    
    
बहिनी प्रियङ्का गान्धी सहित वायनाड पुगेका राहुल गान्धीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूले आमजनतालाई आफ्नै परिवारसरह मान्ने गरेको बताउनु भएको थियो ।    
    
वायनाडमा यो उहाँको दोस्रो उम्मेदवारी हो । उहाँ सन् २०१९ मा यही क्षेत्रबाट लोकसभा सांसदमा निर्वाचित हुनु भएको थियो । तर केही समयअघि उहाँले प्रधानमन्त्री मोदी लक्षित गलत टिप्पणी गरेको आरोपमा अदालतको आदेशबाटै सांसद पद गुमाउनु परेको थियो ।    
    
भारतमा आगामी अप्रिल १९ बाट छ हप्ता लामो शृंखलाबद्ध चुनाव हुँदैछ जसमा झण्डै एक अर्बले मतदान गर्नेछन् । एएफपी    
  

Facebook Comments