Fri. May 10th, 2024

युक्रेनी विद्युत् उत्पादन केन्द्रमा घातक रूसी आक्रमणपछि आपूर्तिमा समस्या   

किएभ, २०८० चैत १६ गते शुक्रबार । रूसी हवाई आक्रमणका कारण विद्युत् उत्पादन गृहहरू क्षतिग्रस्त भएका र कम्तिमा एक व्यक्तिको मृत्यु भएको युक्रेनले शुक्रबार जनाएको छ । बिजुली उत्पादन गृहमा भएको आक्रमणका कारण आफ्नो बिजुली आपूर्तिमा ‘बढ्दो अभाव’ रहेको युक्रेनी अधिकारीले बताएका छन् ।

रूसको सीमा क्षेत्रहरूमा घातक युक्रेनी आक्रमणको प्रतिक्रियामा रूसले युक्रेनी ऊर्जा पूर्वाधारहरूलाई लक्षित गर्दै हालैका हप्ताहरूमा युक्रेनमा हवाई आक्रमण बढाएको हो ।
रूसी ड्रोन हमलामा परी दक्षिणपूर्वी सहर निकोपोल नजिकै ३९ वर्षीय व्यक्तिको हत्या र अर्का एक व्यक्ति घाइते भएका र उत्तरी कमियान्स्केमा भएको हवाई आक्रमणमा एक बालकसहित पाँचजना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

बिहीबार राती रूसले युक्रेनी उर्जा प्रणालीमा आफ्नो हमलालाई जारी राखेको र केही क्षेत्रहरूमा सङ्कटकालीन लोडसेडिङ घोषणा गर्दै विद्युत आपुर्तिलाई कटौती गरिएको युक्रनी प्रधानमन्त्री डेनिस स्मिगलले बताउनुभयो ।

ऊर्जा क्षेत्रमा रूसको लगातार हमलाले युक्रेनलाई तुरुन्तै थप हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता परेकोले किएभले आफ्नो पश्चिमी सहयोगीहरूसँग बारम्बार सहयोगको आह्वान गरिरहेको छ ।

“शत्रुका आक्रमणहरू लगातार र व्यापक हुँदै गएका छन्, जसले युक्रेनको ऊर्जा सुरक्षामा खतरा बढेको छ,” युक्रेनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
रूसले विगत दुई वर्षको युद्ध समयमा युक्रेनी ऊर्जा पूर्वाधारमा बारम्बार हमला गर्दै आइरहेको छ । यसलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘ऊर्जा आतङ्कवाद’ बताउनुभएको छ भने संयुक्त राष्ट्रसङ्घले गैरकानुनी घोषणा गरेको छ ।

युक्रेनी वायुसेनाका अनुसार मस्कोले युक्रेनको ‘ईन्धन र ऊर्जा क्षेत्र’ लाई रातारात ९९ वटा मिसाइल र ड्रोनमार्फत हमला गरेको थियो, जसमध्ये ८४ वटा मिसाइललाई रोक्न युक्रेन सफल भएको थियो ।

“रूसी मिसाइलहरूले थर्मल र हाइड्रोइलेक्ट्रिक पावर प्लान्टहरूमा प्रहार गरेकाथिए,“ राष्ट्रिय ग्रिड अपरेटर युक्रेनेर्गोले बताउनुभयो ।

देशको मुख्य ऊर्जा प्रदायक डिटेकले तीनवटा थर्मल पावर स्टेशनहरूमा आक्रमण भएको र सुविधाहरू ‘गम्भीर रूपमा क्षतिग्रस्त’ भएको बताएको छ ।

ऊर्जा मन्त्रालयको अनुसार आक्रमणले मध्य र पश्चिमी युक्रेनको चार क्षेत्रमा विद्युतीय पूर्वाधारमा पुगेको क्षतिका कारण लोडसेडिङ्ग भएसँगै रेल यातायात अवरुद्ध भएको थियो ।

वासिङ्टनबाट प्राप्त हुने ६० अर्ब रकम बराबरको सहायता प्याकेजमा ढिलाई भएसँगै युक्रेनले युद्ध सामग्रीको अभावमा सङ्घर्ष गरिरहेको छ ।

युक्रेनका सशस्त्र सेनाका कमाण्डर अलेक्जेन्डर सिस्र्कीले शुक्रबारको अवस्था तनावग्रस्त रहेको बताउनुभएको छ । “रुसी पक्षले भारी तोप र मोटारको प्रयोग गरिरहेका छन,” उहाँले भन्नुभयो । एएफपी

Facebook Comments