Sun. Apr 28th, 2024

मस्कोमा आतङ्ककारी आक्रमणमा ६० जनाको मृत्यु   

मस्को, २०८० चैत १० गते शनिबार । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले शनिबार बताएका छन् ।

शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आइसीआर) ले पुष्टि गरेको छ ।

आतङ्कवादी आक्रमणका कारण ६० जनाभन्दा बढीको मृत्यु भएको प्रारम्भिक पुष्टि आइसीआरले गरेको हो । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले शनिबार बताएको छ ।

आन्तरिक मामिला मन्त्रालय र सङघीय सुरक्षा सेवाको परिचालन एकाईहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ ।

मृतकको शवको जाँच भइरहेको छ भने अपराध स्थलबाट हतियार र गोलाबारुदसहितका सामग्री प्रमाणस्वरूप जफत गरिएको छ ।

घटनास्थलमा रहेका आरआईए नोभोस्ती समाचार संस्थाका सम्वाददाताका अनुसार नकावधारी आक्रमणकारीले शुक्रबार एक्कासी भवनभित्र पसेर गोली चलाउनुका साथै भीडमा विस्फोटक पदार्थ फ्याँकेका थिए ।

मस्कोको उत्तरी क्रास्नोगोस्र्क उपनगरमा रहेको क्रोकस सिटी हलमा आक्रमणपछि धुँवाको मुस्लो भरिएको र त्यसपछि आगोको ज्वाला फैलिएको थियो ।

आक्रमण हुँदा घटनास्थलमा पुगेका संगीतकर्मी एलेक्सीले भन्नुभयो, कन्सर्ट सुरु हुनुभन्दा केही समय पहिले एक्कासी गोली र भीडमा व्यापक कोलाहल सुनिएको थियो ।

होहल्लाको लगत्तै त्यहाँ स्वचालित हतियारबाट गोली चलाइएको थाहा भयो ।

उहाँले भन्नुभयो, “सम्भवतः यो रूसको इतिहासमा निकै विनाशकारी आतङ्ककारी आक्रमणमध्ये एक हो ।”

मानिसहरु आपतकालिन निकासतर्फ दौडिदै गर्दा कन्सर्टमा जानेहरु एक अर्काको टाउकोमा चढेर बाहिर निस्किएको उहाँले बताउनुभयो ।

रूसी समाचार संस्थाका अनुसार रूसको अनुसन्धान समितिले शनिबार ६० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले पाँच बालबालिकासहित ११५ जनालाई अस्पताल भर्ना गरिएको र तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।

आक्रमणमा घाइते भएका ११० जना वयस्क व्यक्तिमध्ये ६० जनाको अवस्था गम्भीर छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी समाचार एजेन्सीहरूलाई बताएअनुसार अधिकारीहरूले ‘आतङ्कवादी’ अनुसन्धान सुरु गरिएको बताएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणपछि ‘निरन्तर’ घटनाबारे जानकारी लिइरहनुभउको बताइएको छ ।

रूसको नेसनल गार्डले घटनास्थलमा रहेको र आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । एएफपीका एक संवाददाताले खोजी कुकुरसहित प्रहरी अधिकारीहरूले भवनको छेउमा पार्किङ गरिएका सवारी साधनहरूको निरीक्षण गरिरहेको देखेको बताए ।

इस्लामिक स्टेट समूहले आफ्ना लडाकुहरूले मस्कोको बाहिरी इलाकामा ‘ठूलो जमघट’ मा आक्रमण गरेको र सकुशल आफ्नो अखडामा फर्किएको बताएको छ । सिन्ह्वा

Facebook Comments