Sun. Apr 28th, 2024

सुन तस्करी प्रकरण : माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

काठमाण्डू, २०८० चैत ९ गते शुक्रबार । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा हुनुभएको छ ।

महरालाई उहाँका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूको टोलीले पूर्वसभामुख महराको आज बयान सकिएपछि उहाँलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।

यसअघि आजै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालय र ब्यूरोको टोलीले पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिनुभएको थियो ।

महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाण्डू ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाण्डूबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो ।

सुनको अवैध तस्करी एवम् नियन्त्रणसम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा ब्यूरोले महरालाई पक्राउ गरेको थियो । रासस

Facebook Comments