Mon. May 6th, 2024

उत्तरी चीनमा सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३७ घाइते

पैचिङ, २०८० चैत ७ गते बुधबार । उत्तरी चीनमा द्रूतसेवाको सुरुङमार्गभित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले आज जनाएका छन् ।

हिजो दिउँसो २ः३० पछि दुर्घटना भएको सरकार नियन्त्रित प्रसारक सिसिटिभीले साङ्क्सी प्रान्तका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ । अधिकारीका अनुसार ५१ जना यात्रु बोकेको बस सुरुङको भित्री पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले जीवित व्यक्तिहरूको अवस्थाको गम्भीरताको बारेमा विवरण प्रदान नगरी छुट्टै रिपोर्टमा मारिएका र घाइतेहरूको सङ्ख्या पुष्टि गरेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

गत वर्षको फेब्रुअरीमा मध्य हुनान प्रान्तमा कुहिरो लागेको रातिमा एक सवारी साधन दुर्घटना भएपछि पछिबाट आएका दर्जनौ गाडी उक्त गाडीसँग ठोक्किएर दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । त्यसको एक महिना अघि पूर्वी जियाङ्सी प्रान्तमा भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए । एएफपी

Facebook Comments