Thu. Sep 19th, 2024

कोरोना भन्दा भोकमरीका कारण भयावह स्थिति आउनसक्नेतर्फ सरकारलाई नेपाली कांग्रेसको ध्यानाकर्षण

काठमाडौं , २०७७ बैशाक ५ गते शुक्रबार

नेपाली कांग्रेसले कोरोना भाइरसभन्दा भोकमरीका कारण भयावह स्थिति आउनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ।

खाद्यान्न अभावका कारण नागरिकहरु सयौं किलोमिटर पैदल हिँडेर एक ठाउँबाट अर्को ठाउँसम्म जानुपर्ने अवस्था सिर्जना भएको भन्दै कांग्रेसले सरकारलाई तत्काल राहतको व्यवस्थापनमा लाग्न आग्रह गरेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् राहत वितरणमा ढिलाई नगर्न आग्रह गर्नुभयो । ‘के हामी प्रदर्शनको मितिको पर्खाइमा हौं,’ कांग्रेस प्रवक्ता शर्माले भन्नुभयो, ‘अहिले सडकमा हिडिरहेकाहरु हनिमुन मनाउन होइन, न पिक्निक मनाउन। सबै भोकका कारण हुन्। मान्छे मर्दै गर्दा केबल कोरोनाले मात्र हुँदैन, भोकले पनि मर्छन्। भयावहको स्थिति आउनसक्छ।’

उहाँले संकटमा प्रतिपक्षी दल सरकारको साथमा रहेको दोहोर्‍याउँदै पैदलै घरतर्फ लागेका नागरिकको व्यवस्थापनका लागि तीन सुझावसमेत दिनुभएको छ । उहाँले भन्नुभयो , ‘पहिलो जो जहाँ छन्, तिनिहरुलाई त्यही व्यवस्था गर्ने, दोस्रो, राहत पुर्याउन नसकेपछि अफ्ठ्यारोमा परेका नागरिकलाई उसको घर पुर्याउने हो र तेस्रो न राहत पुर्याउने, न घर पुर्याउने। टुलुटुल हेर्ने।’

‘सयौं किलोमिटरको पैदल यात्रामा हिँडिरहेका छन्। यो भावनामा बग्ने समय होइन। तर यो मृत्यु कुरेर मौन बस्ने समय पनि होइन,’ प्रवक्ता शर्माले भन्नुभयो, लकडाउन सुरु भएको महिना दिन पुगिसकेको छ, डेरामा बस्ने, विद्यार्थी मजदुरहरुको अवस्था के होला ? लकडाउनका बेला किन हिडिरहेका छन् ? यसबारे बुझ्नुपर्छ।’ उहाँले लकडाउनको पालना गर्न नागरिकलाई बाध्य नभई प्रेरित गर्नुपर्ने सुझाव दिनुभयो ।

‘सुकुम्बासी जग्गा होइन जाउलो खोजिरहेका छन्’

कांग्रेसले कोरोना महामारीबाट बच्न आम नेपालीले संघर्ष गरिरहेका बेला सरकारले सुकुम्बासी आयोग गठन गरेको भन्दै आपत्ति जनाएको छ। सुकुम्बासी समस्या समाधान गर्नुपर्ने आवश्यकता भएपनि अहिलेको महामारीसँग जुध्नुपर्ने बेला सरकार कार्यकर्ता पोस्ने उद्धेश्यले आयोग गठनतर्फ लागेको आरोप कांग्रेसले लगाएको छ।

‘गाउँमा बसेका सुकुम्बासीले सरकालाई के प्रश्न गरिरहेका होलान्?’ प्रवक्ता शर्माले भन्नुभयो, ‘सुकुम्बासीलाई यति बेला जग्गा होइन जाउलो चाहिएको छ।’ आयोग गठनको मिति चैत ९ गतेको राखेर सरकारले नौटंकी गरेको भन्दै प्रवक्ता शर्माले भन्नुभयो, ‘सरकारलाई अधिकार छँदैछ। सहज अवस्थामा आयोग गठन गरे भइहाल्थ्यो। पुरानो मिति राखेर अहिले गठन किन ?’ आयोगका लागि अर्बौँ रुपैयाँ बजेट छुट्याउन सक्ने सरकारले तत्काल नागरिकलाई राहत दिन कञ्जुस्याँइ गरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ। अन्नपूर्ण पोष्टबाट

Facebook Comments