Fri. May 3rd, 2024

प्रधानमन्त्री मोदीद्वारा मिसन दिव्यास्त्रको प्रशंसा, अग्नि-५ मिसाइलको पहिलो उडान परीक्षण   

नयाँदिल्ली, २०८० फागुन २९ गते मंगलबार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मल्टिपल इन्डिपेन्डेन्ट्ली टारगेटेबल रि-इन्ट्री भेहिकल (एमआइआरभी) प्रविधिले सुसज्जित स्वदेशीरूपमा विकसित अग्नि-५ मिसाइलको पहिलो उडान परीक्षण मिसन दिव्यास्त्रको प्रंशसा गर्नुभएको छ ।

उहाँले मिसन दिव्यास्त्रको सफल कार्यान्वयनका लागि रक्षा अनुसन्धान एवं विकास सङ्गठन (डिआरडिओ) वैज्ञानिकहरूको उपलब्धिको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री मोदीले माइक्रो-ब्लगिङ साइट एक्समा पोस्ट गर्नुभयो, “मिसन दिव्यास्त्रका लागि हाम्रा डिआरडिओ वैज्ञानिकहरूमाथि गर्व छ, एमआइआरभी प्रविधिका साथ स्वदेशीरूपमा विकसित अग्नि-५ मिसाइलको पहिलो उडान परीक्षण ।”

अग्नि-५ मिसाइलमा एमआइआरभी प्रविधिको समावेशले विभिन्न लक्ष्यमा सटीकताका साथ धेरै हतियार पुर्याउने यसको प्रभावकारिता बढ्नेछ । यसबाट भारतको प्रतिरोध क्षमतामा वृद्धि हुनेछ र राष्ट्रिय सुरक्षा सुदृढ हुनेछ ।

एउटा एमआइआरभी पेलोडमा चारदेखि छ वटा आणविक हतियार बोक्ने एउटा मिसाइल समावेश हुन्छ । प्रत्येकलाई अलग अलग लक्ष्यमा हमला गर्नका लागि प्रोग्राम गरिएको छ । यसले एउटै मिसाइलमा विभिन्न स्थानमा धेरै हतियार तैनाथ गर्न सकिन्छ भन्ने सुनिश्चित गर्दछ ।

सरकारी स्रोतका अनुसार यस परियोजनाका निर्देशक एक महिला हुन् र यसमा महिलाहरूको महत्त्वपूर्ण योगदान छ । मिसन दिव्यास्त्रको परीक्षणसँगै भारत एमआइआरभी क्षमता भएका मुलुकहरूको समूहमा सामेल भएको छ । एएनआई

Facebook Comments