Sat. May 4th, 2024

रास्वपा सभापति लामिछाने दोस्रोपटक गृह प्रशासन सम्हाल्दै   

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्बिर : विमलबहादुर बिष्ट / रासस

काठमाण्डू, २०८० फागुन २३ गते बुधबार । सञ्चारकर्मीका रुपमा परिचय बनाएर राजनीतिमा होमिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पुस ११ गते उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिकामा रहनुभएका उहाँ नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट गत माघ १३ गते पदमुक्त हुनुभएको थियो ।

सर्वोच्चको आदेशसँगै उहाँको सांसद पदसमेत खारेज भएको थियो । गत वैशाखमा भएको उपनिर्वाचनमा पुनः चितवन क्षेत्र नं २ बाट ५४ हजार एक सय ७६ मत प्राप्त गरी विजयी हुनुभएका उहाँले नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पराजित गर्नुभएको थियो ।

राससका अनुसार करिब दुई वर्षअघि सक्रिय राजनीतिमा लाग्नुभएका नवनियुक्त गृहमन्त्री लामिछानेले टेलिभिजन प्रस्तोताका रुपमा काम गर्नुभएको थियो । ग्यालेक्सी टेलिभिजनमा काम गर्दागर्दै उहाँ पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गर्नुभएको थियो । त्यसलगत्तै उहाँले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुभएको थियो ।

सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर विश्व कीर्तिमान कायम गरेपछि उहाँ चर्चामा आउनुभएको थियो । कुनै बेला टेलिभिजन कलाकारितामा सक्रिय उहाँले न्युज २४ मा लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ प्रस्तुत गर्नुभएको थियो । बेथिती, विसङ्गतिविरुद्ध कडा प्रस्तुति हुने उक्त कार्यक्रम जनताले निकै रुचाएका थिए ।

दोस्रो पटक गृह प्रशासनको नेतृत्व सम्हाल्न पुग्नुभएका उपप्रधानमन्त्री लामिछानेका अगाडि प्रधानमन्त्री दाहालको निर्देशनमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीले थालनी गर्नुभएको सुधारका कार्यलाई निरन्तरता दिनुपर्ने बाध्यात्मक अवस्था छ ।

Facebook Comments