Mon. Apr 29th, 2024

सुनको मूल्य हालसम्मकै उच्च

स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ ।

काठमाण्डू, २०८० फागुन २२ गते मंगलबार । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २३ हजार निर्धारण गरिएकोे छ ।

अघिल्लो दिन प्रतितोला रु १ लाख २१ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २२ हजार चार सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु १ लाख २० हजार चार सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ले बढेर रु १ हजार चार सय ४५ तोकिएको महासङ्घले जनाएको छ ।

यसअघि गत पुस १२ गते प्रतितोला रु एक लाख २२ हजारको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो । त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते १ लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो । रासस

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस २ हजार १ सय १५ डलर आसपास कारोबार भइरहेको छ । रासस

Facebook Comments