Thu. May 16th, 2024

वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्य अब सम्झनामा मात्र

काठमाडौ, १५ फागुन : स्व आचार्यको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड',उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत वरिष्ठ गायक तथा सङ्गीतकार स्व भक्तराज आचार्यको पार्थिव शरीरमा मङ्गलबार श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

रमेश हतुवाली/काठमाण्डू, २०८० फागुन १५ गते मंगलबार । नेपाली सांगितिक क्षेत्रका नक्षत्र, भजन शिरोमणि, वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्य अब हामी माझ रहनु भएन । आफ्ना जीवनका उर्वर समय नेपाली सांगितिक क्षेत्रको विकासमा समपर्ण गर्नुभएका जनजनका मन अनि मुुटुहरुमा बस्न सफल गायक भक्तराज आचार्यको शरीरमा अक्सिजनको मात्रा घटेपछि उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाँदै गर्दा हिजो २०८० साल फागुन १४ गते सोमबार दिउसो ८१ वर्षको उमेरमा निधन भएको हो ।

विक्रम सम्वत २०३० सालदेखि २०४६ साल मंसिर १९ गते साँझ काठमाण्डूस्थित बौद्धको छिरिङ रेष्टुरेन्टमा साँघातीक आक्रमण हुनुुअघिसम्म उहाँले झण्डै ४५० वटा गीत र भजनहरु गाईसक्नु भएको थियो । आचार्यले गाउनुुभएका मुटु जलिरहेछ, जति चोट दिन्छौँ देऊ मायालु, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने मेरी मायालुलाई लगायतका गीतहरु नेपाली सांगितिक क्षेत्रमा कालजयी गीतको रुपमा स्थापीत भएका छन् ।

विक्रम सम्वत १९९९ सालमा धनकुटामा जन्मिएर भारतको कालिम्पोङमा हुर्किनुभएका भक्तराज आचार्यको नेपाली सुगम संगीतको विकासमा महत्वपूर्ण योगदान र स्थान रहेको छ । २०४६ साल मंसिर १९ गतेदेखि २०८० साल फागुन १४ गतेसम्म ३४ वर्ष लगभग आवाज विहीन रहनुभएका भक्तराज आचार्यको जीवन सुख, शान्ति भन्दा पनि कैयौं गुना दुख, अभाव र पीडामा वित्यो भन्दा फरक पर्दैन ।

लडेमाथि मुुङरो भनेजस्तै क्यानसर रोगको कारण २०५० सालमा जिब्रो नै काट्नु परेपछि आचार्य र उहाँको परिवारजनमा अझ ठूूलो बज्रपात भयो । सांघातिक आक्रमणबाट थिलथिलो भएको उहाँको शरीरले मात्र पीडा भोगेन बरु उहाँ र उहाँका परिवारजनहरुले त्यसपछि दुःखका कैयौं घुम्ति र कुइनेटोहरु पार गर्नुपर्यो । सन् १९७० को दशकमा दार्जिलिङका गायकहरू नेपाल आउने क्रममा भक्तराज आचार्य पनि काठमाण्डू आउनु भएको थियो । सन् १९७३ मा रेडियो नेपालले आयोजना गरेको अखिल नेपाल गीत प्रतियोगितामा स्वर्ण पदक जितेपछि आचार्यको गायन यात्रा सुरु भएको थियो ।

सांगितिक यात्राकै क्रममा उहाँले झण्डै ३० वटा गीतहरु पनि रचना गर्नुभएको थियो । गायक आचार्यका दुई छोरा सत्यराज आचार्य र स्वरूपराज आचार्य पनि साङ्गीतिक क्षेत्रमै क्रियाशिल हुनुहुन्छ । आचार्यको निधनको खवर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा आउन थालेको श्रद्धाञ्जलीको बाढी उहाँको नश्वर शरीर अग्नीकुण्डमा दन्कीएर वायुमण्डलमा विलय हुँदा समेत रोकिएको छैन ।

लोकप्रीय गायक भक्तराज आचार्यको पार्थीव शरीरमा हजारौंले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताउनुभएको छ । आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उहाँको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । उहाँले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको थियो । त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायतका उच्च पदस्थ नेताहरुले पनि आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । प्रतिष्ठानमा बिहान ११ बजेदेखिनै शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व र कलाकारहरुले आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

पशुपती आर्यघाटमा परम्आदरणीय भक्तराज आचार्य निस्प्राण लडेपनि, उहाँको नश्वर शरीर चीतामा जलेर खरानी भए पनि, भौतीक रुपमा अब कहिल्यै कहिल्यै भेट्न नसक्ने ठाउँमा उहाँ पुग्नुभए पनि नेपाली जनताको स्वाभिमानलाई जगाईरहन प्ररित गर्ने, राष्ट्र र जनताको पक्षमा जीवन, प्रेम, मिलन र विछोडका धुनहरु गुञ्जाईरहने भजन सिरोमणि, वरिष्ठ गायक तथा संगीतकार आदरणीय भक्तराज आचार्य नेपालीजनका मन अनि मुटुहरुमा अनन्तकालसम्म बाँचिरहनु हुनेछ ।

Facebook Comments