Tue. Apr 30th, 2024

वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन

- भक्तराज आचार्यको निधन

काठमाण्डू, २०८० फागुन १४ गते सोमबार । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिसमेत उपाधि पाउनुभएका आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो ।

वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको सङ्गीतकार चेतन सापकोटाले जानकारी दिनुभयो । अचानक अक्सिजनको मात्रा घटेपछि उहाँलाई अस्पताल लगिँदै थियो ।

आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ देऊ मायालु, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने मेरी मायालुलाई लगायत करिब चार सय गीतमा आवाज दिनुभएको छ । गायक आचार्यको पार्थिव शरीरलाई भोलि मङ्गलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने सङ्गीतकार सापकोटाले बताउनुभयो । आचार्यको राष्ट्रिय सम्मानका साथ बिदाइ गर्ने तयारी भैरहेको छ ।

विक्रम सम्वत १९९९ सालमा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम संगीतको विकासमा महत्वपूर्ण योगदान र स्थान रहेको छ । गायक आचार्यका दुई छोरा सत्यराज आचार्य र स्वरूपराज आचार्य पनि साङ्गीतिक क्षेत्रमै क्रियाशिल हुनुहुन्छ । आचार्यको निधनप्रति राजनीतिककर्मी, संगीतकर्मी, प्राध्यापक, विद्यार्थी, समाजसेवी र सर्वसाधारणले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यप्रति भ्वाईस अफ काठमाण्डू मिडिया परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

Facebook Comments