Fri. Nov 22nd, 2024

औषधि, उपकरण खरिदमा सघाउन चीनसँग आग्रह

काठमाडौं, २०७७ बैशाक २ गते मंगलबार

सरकारले कोभिड-१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ ।

सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले अपनाएका उपाय तथा त्यसको द्रुत परीक्षणका लागि नेपालभर औषधि र उपकरणको व्यवस्था गर्नुपर्ने भएकाले सरकार-सरकार (जीटुजी) आधारमा औषधि, उपकरण खरिदमा सहयोग र सहजीकरणको आग्रह मन्त्री ज्ञवालीले गर्नुभयो ।

अत्यावश्यक दैनिक उपभोग्य सामग्री र औषधिजन्य वस्तुहरु सहजरूपमा नेपालतर्फ आपूर्ति गर्न नेपाल-चीन सीमानाका पुनः खोल्न चीन सरकार सहमत भएकामा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यस्तै चीनको वुहानबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन तथा चीनमा रहेका नेपालीको हेरविचार गरेकामा कृतज्ञता व्यक्त गर्नुका साथै चीनको केन्द्रीय सरकार, त्यहाँको प्रान्तीय सरकार, सामाजिक सङ्घ-सङ्गठन एवं परोपकारी संस्थाले नेपाललाई निरन्तर औषधि, उपकरण उपलब्ध गराएकामा त्यसको सराहना गर्नुभयो । मन्त्री ज्ञवालीले नेपालमा रहेका चिनियाँ नागरिकको हित र हेरचाहमा पनि सरकारले ध्यान दिने बताउनुभयो ।

कोभिड-१९ को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले तत्काल चालेको सुदृढ कदमको चिनियाँ विदेशमन्त्रीले प्रशंसा गर्दै त्यसमा आफ्नो देशको सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले सरकार-सरकार (जीटुजी)बीच औषधि, उपकरण खरिदमा सहजकर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो । चीनमा कोरोनाको महामारी फैलिएका बेला नेपाल सरकारले व्यक्त गरेको ऐक्यबद्धता र सहयोगका लागि चीन सरकार र आफ्नो देशका जनताका तर्फबाट धन्यवाद दिनुभयो ।

दुवै देशका विदेशमन्त्रीले विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउनेबारेमा पनि विचारविमर्श गर्नुभएको थियो ।गोरखापत्र अनलाईनबाट

Facebook Comments