Fri. May 3rd, 2024

भारतीय ट्रक दुर्घटनामा तीन जना बालबालिकाको मृत्यु   

मोरङ, २०८० फागुन ११ गते शुक्रबार । मोरङको बूढीगंगा गाउँपालिका वडा नम्वर ४ प्रगति टोलमा आज बिहान मालबहाक भारतीय ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिदा किचिएर ३ जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । मृतक मध्ये दुई जना एकै परिवारका सदस्य हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मार्वल लोड गरेको भारतीय लहरी नं. आर जे २९ जीवि १५६१ पल्टिँदा च्यापिएर बूढीगंगा गाउँपालिका वडा नम्वर ४ का ज्योति अधिकारीकी ४ वर्षीया छोरी इसिता, छोरा निशान्त र सोही स्थानकी सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको छ ।घाइते ज्योतिको स्थानीय विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लहरीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नायब उपरीक्षक दाहालले बताउनुभयो । तीन जनाको शव परीक्षणका कोशी अस्पतालमा राखिएको र परिवारलाई बुझाइने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस

Facebook Comments