Thu. May 16th, 2024

सन्दर्भ राससको ६३औँ वार्षिकोत्सव : सेवाको दायरा फराकिलो बनाउन सुझाव  

काठमाण्डू, २०८० फागुन ४ गते शुक्रबार । पत्रकारिता क्षेत्रका अगुवाहरूले सूचना र समाचारको भेद छुट्याउन कठिन भइरहेको अहिलेको समयमा राष्ट्रिय समाचार समिति (रासस)ले सबै खालका सञ्चारमाध्यमका लागि सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।

राससको ६३औँ वार्षिकोत्सवका पूर्वसन्ध्यामा रासस कर्मचारी युनियनद्वारा आज यहाँ आयोजित अन्तरसंवादमा समाचार समितिको औचित्य छैन भन्ने बहसको अर्थ नभएको तर राससले आफ्नो सेवा र क्षेत्रको दायरालाई समयानुकूल विस्तार गर्न अपरिहार्य भएको औँल्याए ।

प्राध्यापक रामकृष्ण रेग्मीले सूचनाको प्रवाहकै लागि सञ्चारमाध्यमलाई पर्खिरहनु नपर्ने समयमा राससले व्यावसायिकस्तरलाई कायम राखेर मुलुकका तीनवटै तहका सरकारका गतिविधिका अतिरिक्त खोजी समाचारलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । राससका पूर्वप्रमुख समाचारदाता रेग्मीले सूचनाको प्रमाणीकरण गर्दै कुनै पक्षलाई हानी नपुग्ने गरी आम जनताको स्वार्थलाई केन्द्रमा राखेर प्रस्तुत हुन सक्नु नै समाचार समिति पत्रकारिताको विश्वव्यापी मान्यता रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष महेन्द्र विष्टले खोजी समाचारमा सेवाग्राहीसँग शुल्क लिने र राज्यका सूचनामूलक गतिविधि निःशुल्क प्रदान गर्नेतर्फ राससले सोच्नुपर्ने सुझाव दिनुभयो । उहाँले ‘सर्वसुलभ विषयमात्र नभई लुकाइएका विषय’ पनि राससले उजगार गर्नुपर्ने बताउनुभयो ।

पत्रकार निर्मला शर्माले सीमान्तकृत समुदाय र स्थानीय मुद्दालाई स्थलगतरूपमा राससले समाचार दिएमा आम जनता लाभान्वित हुने विचार व्यक्त गर्नुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको समाचार सेवामा देश झल्कनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै राससको विद्यमान समाचार शुल्क विदेशी समाचार समितिको दाँजोमा कम भएको र यसलाई निःशुल्क गर्ने भन्ने बहसबाट पनि आफूहरू पछि नहट्ने बताउनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले सङ्कटको सारथिका रूपमा समाचार समिति रहेको अवगत गराउँदै राससका सेवालाई विविधीकरण र समावेशीकरण गर्न हरसम्भव प्रयास गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा विषयवस्तुबारे प्रस्तुति दिँदै राससका प्रधानसम्पादक एकराज पाठकले सञ्चारमाध्यमका सङ्ख्या वृद्धिसँगै राससको औचित्य बढेको जनाउँदै ती माध्यमका माग र अपेक्षानुसारका सेवा दिन सक्नु राससको चुनौती रहेको बताउनुभयो ।

सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपाल (पिन) का अध्यक्ष इन्दु आचार्यले राससमार्फत आएका समाचार सत्य र तथ्यमा आधारित हुन्छन् भन्ने मान्यता कर्मचारी र आम जनतामा पर्ने भएकाले यस छविलाई कायम राख्न आग्रह गर्नुभयो ।

अन्तरसंवादमा राससका नायबमहाप्रबन्धक श्यामप्रसाद रिमालले नेपालमा समाचार समितिका कामका हिसाबले रासस मात्रै एक्लो नभई निजी क्षेत्रका संस्थाहरू पनि आएकाले त्यस पक्षलाई पनि ध्यान दिन जरुरी भएको बताउनुभयो ।

राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवालले समाचार समिति पत्रकारितामा राससले निर्वाह गरेको अग्रणी भूमिकालाई अझ फराकिलो बनाउन कार्यरत पत्रकार र कर्मचारीले होस्टेमा हैँसे गरिरहेको जनाउनुभयो भने रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले छलफलबाट प्राप्त सुझावबाट रासस समाचार सेवालाई गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा राससका नायबमहाप्रबन्धक, विभागीय प्रमुख, सङ्घ–सङ्गठनका प्रतिनिधि र राससकर्मीको सहभागिता थियो । राससको ६३औँ वार्षिकोत्सव यही फागुन ७ गते मनाइँदैछ ।

Facebook Comments