Wed. Dec 25th, 2024

हराउँदै श्रीपञ्चमी पर्वका कृषि परम्परा   

महोत्तरी, २०८० फागुन २ गते बुधबार । मधेशको प्राचीन मिथिलाक्षेत्र चाडवाड र लोक सांस्कृतिक परम्पराले उर्वर मानिन्छ । माघ शुक्लपञ्चमी पनि कतिपय परम्परासँग जोडिएको पर्व हो । यस दिनलाई वसन्तपञ्चमी वा श्रीपञ्चमी भन्ने गरिएको छ ।

श्रीपञ्चमी पर्व वैदिक परम्परामा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजनोत्सव र ससाना नानीहरुको अक्षरारम्भसँगै कतिपय कृषि परम्परासँग जोडिएको छ । यद्यपि अब पर्वविशेषका कृषि परम्परा भने हराउँदै छन् । महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्रमा श्रीपञ्चमीका दिन मनाइने कृषिसम्बद्ध परम्परा देखिन छाडेका छन् ।

मिथिलाक्षेत्रमा श्रीपञ्चमीकै दिन गरिने वर्षभरका कृषिकाम गर्ने श्रमिक चयन गर्ने, कृषि ज्यावल मर्मत गर्ने लोहार (कृषि ज्यावल मर्मतको काम गर्ने जातिविशेष) पक्कापक्की गर्ने र बाँझो खेतमा एकै छिन भएपनि हलो घुमाउने परम्परा अब देखिन छाडेको छ । यहाँका गाउँ बस्तीमा कृषि कार्यका श्रमिक पाउनै छाडिएपछि यी परम्परा हराउँदै गएको भङ्गाहा-४ थारुटोल बनराका ७५ वर्षीय किसान रामऔतार सिंह थारु बताउनुहुन्छ ।

“गाउँमा न मजदुर (कृषि श्रमिक) पाइन्छन् , न लोहार ! कहाँ खोज्ने ? कहाँ पुज्ने ?” थारु भन्नुहुन्छ, “यी चलन नातिनातिनालाई सुनाइने कथाजस्तै भइसके ।” श्रीपञ्चमी पर्व नजिकिन थालेपछि यसपछिको एक वर्षभरि खेतीपातीका काम गर्ने मजदुरको पक्कापक्की गर्ने र पर्वका दिन ती श्रमिकलाई घरमा बोलाएर टीका लगाइ दिएर वरण गर्दै मिष्ठान्न भोजन गराएर दक्षिणा दिने पुरानो मैथिल परम्परा हो । यसैगरी कृषि ज्यावल (हलो, कोदालो, कुटो, कचिया, खुर्पाआदि) मर्मत गर्ने (हलोको फाली उद्याउने/पिट्ने, हलो, हरिस/जुवा काँटछाँट गर्ने, कुटोकोदालो र कचिया, खुर्पाको धार पिट्ने, बिंड लगाउनेआदि) कामका लागि लोहार पूजनको परम्परा पनि अब देखिन छाडेको छ ।

“गाउँमा उमेरदारी न लोहार छन्, न खेतीपातीका काम गर्ने मजदुर !” गौशाला-४ रजखोरका ६० वर्षीय किसान रिझन साह भन्नुहुन्छ, “अनि कसलाई टिको लाउनु ? को वरण गर्नु ?” खासमा कृषि कार्यमा पोख्त मानिने मुसहर, बाँतर जातिसमुदायका नयाँ पुस्ता १५/१६ वर्षकै उमेरमा भारतको पञ्जाव, हरियाणातिर काममा जान थालेपछि यहाँ कृषि श्रमिक पाइन छाडेका रिझनसहितका आम किसानको भनाइ छ । त्यसैगरी कृषि ज्यावल मर्मत गर्ने लोहार (बरही पनि भनिन्छ) परिवारका नयाँ पुस्ता पनि विभिन्न अवसरको खोजीमा बाहिर जान थालेपछि यहाँका घरमा बुढाखाडामात्र देखिन्छन् । आफु गर्नसकुञ्जेल यी परम्परा थेगेपनि अब छोरानाति साथमा नभएपछि अब आरन (फलामे हतियार र अन्य ज्यावल बनाउन फलाम तताउने एकप्रकारको परम्परागत यन्त्र) बन्द भएका भङ्गाहा-४ रामनगरका ७० वर्षीय राममिलन ठाकुर बरही बताउनुहुन्छ ।

“घरमा न छोरा छन् , न नाति, आरनको खलाँती (आरनमा आगो जगाउन हावा दिइने छालाबाट बनेको थैला) फुक्न चलाउने नै छैनन्” घरको पारिवारिक अवस्था दर्साउँदै राममिलन भन्नुहुन्छ, “उमेरदारी सबै बिदेसिए, घरमा म र बुढी त छौँ ।” काम गर्ने उमेरका जति मुगलान पसेपछि यता खेतीपातीका काममा मजदुर पाइन छाडेसँगै यीसँग जोडिएका परम्परा हराउँदै गएका पाका किसान एक स्वरले बताउँछन् । अब त चाडपर्व परम्परामात्र नभएर बुढो पुस्ता सकिएपछि खेतबारी सबै बाँझै बस्ने चिन्ता पो पस्न लागेको रामगोपालपुर-८ थलहीका ७५ वर्षीय रामविलास ठाकुर बताउनुहुन्छ । श्रमिक र लोहार नपाइँदा पुज्ने चलन हराए झैँ श्रीपञ्चमी पर्वमा कमसेकम एक मोड हलो जोत्ने परम्परा पनि अब देखिन छाडेको छ ।

“अब खेतीपाती सुविधामुखी भइसक्यो, मान्छेले गोरु पाल्न छाडे, घरमा गोरु नै नभएपछि के मोड घुमाउनु ?” बर्दिबास-७ प्रेमनगरका ७० वर्षीय अर्जुन महतो भन्नुहुन्छ, “अब हाम्रा चलन कथाकहानीजस्ता भइसके ।”

मिथिलाका चाडपर्व कृषि कार्य र फसलसँग अन्तरसम्बन्धित हुँदै आएका परम्परा देखिन्थ्यो । श्रीपञ्चमी कृषि कार्यको नयाँ वर्ष प्रारम्भको दिन मानिने परम्परा रहेको बुढापाका सम्झन्छन् । “एक मोड भएपनि हलो घुमाउनु भनेको वर्षको पहिलो दिन काम बिस्तुर जान नदिनु भन्ने सन्देश त हो” गौशाला-१० लक्ष्मीनियाँका ७५ वर्षीय किसान लक्ष्मीप्रसाद सिंह कुशवाहा भन्नुहुन्छ, “यी सबै चलन हराए ।”

मिथिलामा अधिकांश चाडपर्वमा कृषि फसलले राम्रो बजार पाउने चलन छ । श्रीपञ्चमीमा केशोर र बयर फलको महत्व छ । यसैगरी छठमा उखु, अदुवा, बेसार र ज्यामिरसहितका कृषि उत्पादनले बजार पाउँछन् । मिथिला खासमा कृषि प्रधान क्षेत्र भएका हुँदा यहाँका चाडवाडमा कृषि कर्म र उत्पादनको सम्बन्ध जोडिएको मैथिल परम्पराको कर्मकाण्डका ज्ञाता बर्दिबास-२ का दिनेशकुमार झा बताउनुहुन्छ । तिलासक्रायतमा तरुल, सुठुनी र उखुबाट बन्ने सख्खर । नयाँ वर्ष (वैशाख १ गते) को जुडशीतलमा सोहीजन, चौरचन÷छठमा केरा । पर्वपिच्छे कृषि फसलका विशेष सम्बन्ध रहेका झा सम्झनुहुन्छ ।

आफ्नो ठाउँका पुराना लोकपरम्परा हराउँदै जाँदा पाका पुस्ताका मैथिल खिन्नता जनाउँछन् । एकपछि अर्को परम्परा बिर्सँदै, हराउँदै गएपछि आफ्नो विगतप्रति गौरववोध गर्ने अवस्था नै नरहने चिन्ता लाग्ने गरेको बर्दिबास-९ पशुपतिनगरका ८० वर्षीय किसान नथुनी महतो बताउनुहुन्छ । नयाँ पुस्ताले यी चाडपर्वविशेषका लोक परम्परा खोजी थामी दिउन् भन्ने लाग्ने गरेको महतोको भनाइ छ । रासस

Facebook Comments