Mon. Apr 29th, 2024

उपराष्ट्रपति यादवद्वारा ल्होसारको शुभकामना   

काठमाण्डू, २०८० माघ २७ गते शनिबार । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक एकता सँगै नेपालीको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सोनाम ल्होसारले सहयोग पुग्ने बताउनुभएको छ । सोनाम ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु-वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताउनुभएको छ ।

सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुहुँदै उहाँले नेपालको मौलिक संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “सोनाम ल्होसारले समुदाय, समाज र देशमा सामाजिक एकता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्दै मुलुकलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”  रासस

Facebook Comments