Wed. Dec 25th, 2024

सिले पुटिनलाई भन्नुभयो-चीन र रुसले हस्तक्षेपको विरोध गर्नुपर्छ   

पैचिङ, २०८० माघ २५ गते बिहीबार । चीनका राष्ट्रपति सी चिनफिङले बिहीबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग दुवै देशले ‘बाहिरी शक्तिहरू’ को हस्तक्षेपको विरोध गर्नुपर्ने बताउनुभएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बताएको छ ।

नयाँ चन्द्र वर्षको अवसरमा दुवै नेताबीचको टेलिफोन कुराकानीमा राष्ट्रपति सिले उक्त कुरा बताउनुभएको हो । पैचिङ र मस्को कट्टर साझेदार हुन् र छिमेकी युक्रेनमा रुसको आक्रमणलाई लिएर धेरै मुलुकले विरोध गरे पनि उनीहरूले आफ्नो सम्बन्धलाई सुदृढ बनाएका छन् ।

दुवै पक्षले उच्चस्तरीय भ्रमणहरू र संवादको निरन्तर प्रवाहलाई कायम राखेका छन् र उनीहरूबीचको व्यापार सन् २०२३ मा कीर्तिमानी उचाइमा पुगेको छ ।

बिहीबार फोन वार्तामा सिले दुवै मुलुकले रणनीतिकरूपमा नजिकबाट सहयोग गर्नुपर्ने, आ-आफ्ना मुलुकको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्नुपर्ने र बाहिरी शक्तिहरूको आन्तरिक मामिलामा हस्तक्षेपहरूको दृढताका साथ विरोध गनुपर्ने बताउनुभएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले सिसँग चीन र रुसबीचको सम्बन्ध ‘अभूतपूर्वरूपमा उच्चस्तर’ मा रहेको बताउनुभएको क्रेमलिनको विज्ञप्तिमा उल्लेख छ । पैचिङले युक्रेन युद्धमा आफू तटस्थ रहेको जोड दिँदै युद्धमा युक्रेनका सहयोगीहरूबाट आफ्नो अडानका लागि आलोचना गरेको छ ।

क्रेमलिनको विज्ञप्तिमा भनिएको छ, “एसिया-प्रशान्त क्षेत्रको स्थितिमाथिको छलफलमा रुसी राष्ट्रपतिले ताइवान मुद्दामा आफ्नो सैद्धान्तिक स्थिति पुष्टि गर्नुभयो, त्यो ‘एक चीन नीतिको समर्थन गर्नु’ हो ।”

सिसिटिभीको रिपोर्टअनुसार चिनियाँ राष्ट्रपति सिले चीन र रुसले ‘एकसाथ धेरै आँधीबेहरीको सामना गरेको’ बताउनुभयो । “अगाडि हेर्दा चीन-रुस सम्बन्धले विकासका नयाँ अवसरहरूको सामना गरिरहेको छ”, उहाँले भन्नुभयो । एएफपी

Facebook Comments