Thu. May 16th, 2024

खानलाई कारागारमा राखेर पाकिस्तानमा मतदान, मोबाइल नेटवर्क बन्द   

इस्लामाबाद २०८० माघ २५ गते बिहीबार । धाँधलीको आरोप लागेको निर्वाचनमा लाखौँ पाकिस्तानीले मतदान गरेपछि बिहीबार मतदान केन्द्रहरू बन्द भएका छन् । पाकिस्तानी अधिकारीहरूले मतदानको पूरै दिन मोबाइल फोन सेवा निलम्बन गरेका थिए र मुलुकका सबैभन्दा लोकप्रिय राजनेतालाई कारागारमा राखेका थिए ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ देशको संसदीय चुनावको लागि मतदान केन्द्रमा मतदान गर्न आइपुगेका छन्, लाहोर, पाकिस्तान, बिहीबार, फेब्रुअरी 8, 2024। पाकिस्तानीहरू बहादुर चिसो जाडो मौसम र हिंसाको धम्कीले नयाँ मतदान गर्न लाइनमा छन्। संसद बिहीबार, दुईवटा बम विष्फोटमा कम्तिमा 30 जनाको ज्यान गएको एक दिन पछि चुनाव लडिएको चुनाव अघि सबैभन्दा खराब चुनाव सम्बन्धी हिंसामा। (एपी फोटो/केएम चौधरी)

पूर्वप्रधानमन्त्री इमरान खानको कारागार सजाय र उहाँको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीलाई सैन्य नेतृत्वमा स्थापना गरिएको प्रतिस्थापनले छायाँमा पारेको अभियानपछि मतदान सर्वेक्षकहरूले मुलुकका १२ करोड ८० लाख योग्य मतदाताबाट कम मतदान हुने भविष्यवाणी गरेका छन् ।

बिहीबार भएको मतदानपछि पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले सबैभन्दा धेरै सिट जित्ने अपेक्षा गरिएको छ । विश्लेषकहरूले उक्त पार्टीका ७४ वर्षीय संस्थापक नवाज शरिफलाई जनरलहरूको आशीर्वाद प्राप्त भएको बताएका छन् ।

मतदानको अखण्डताका बारेमा चिन्ता व्यक्त गर्दै अधिकारीहरूले बुधबार दुई विस्फोटमा २८ जना मारिएपछि ‘कानून र व्यवस्था कायम गर्न’ मतदान सुरु हुनुभन्दा ठिकअघि मुलुकभर मोबाइल टेलिफोन सेवाहरू निलम्बन गरेका थिए ।

गैर–नाफामूलक डिजिटल राइट्स फाउन्डेसन चलाउने वकिल निघत ड्याडले उक्त बन्दाबन्दी पाकिस्तानीहरूको लोकतान्त्रिक अधिकारहरूमाथि आक्रमण हो भन्नुभयो । “मोबाइल फोन सेवा बन्द गर्नु राष्ट्रिय सुरक्षा चिन्ताको समाधान होइन, यदि तपाईंले सूचनाको पहुँच बन्द गर्नुभयो भने तपाईंले थप अराजक सिर्जना गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।

पाकिस्तानमा मतदाताहरू आफू दर्ता भएको मतदान केन्द्रको पुष्टि गर्नका लागि टेक्स्ट सन्देश सेवामा निर्भर थिए । चालीस वर्षीय अब्दुल जब्बारले इन्टरनेट अवरोधले आफू र आफ्नी श्रीमतीलाई सेवा प्रयोग गर्नबाट रोकेको बताउनुभयो । “अन्ततः पिटिआईका अन्य समर्थकहरूले मतदान केन्द्र पत्ता लगाउन सहयोग गरे”, उहाँले भन्नुभयो ।

मतदान आधिकारिकरूपमा स्थानीय समयानुसार साँझ ५ बजे समाप्त भयो तर अधिकारीहरूले उक्त समयमा मतदान केन्द्रभित्र रहेका जो कोहीलाई पनि आफ्नो मतदान गर्न अनुमति दिइने बताएका छन् ।

पहिलो नतिजा आधा रातभन्दा पहिला नै आउने अपेक्षा गरिएको छ तर मतदान ढाँचाअनुसार नतिजा शुक्रबार बिहानसम्म आउने सम्भावना छैन ।

उन्चालीस वर्षीय सैयद तसवारले भन्नुभयो, “मेरो मत मैले खसाएको पार्टीका लागि गणना हुन्छ कि हुँदैन भन्ने मलाई एउटामात्र डर छ, गरिबहरूका लागि कसले शासन गरिरहेको छ भन्नेले कुनै अर्थ राख्दैन, हामीलाई मुद्रास्फीति नियन्त्रण गर्न सक्ने सरकारको आवश्यकता छ ।”

पहिलोपटक मतदाता बन्नुभएकी मनोविज्ञानकी २२ वर्षीया छात्रा हलिमा शफिकले मतदानको महत्त्वमा विश्वास गरेको बताउनुभयो । “म लोकतन्त्रमा विश्वास गर्छु, म पाकिस्तानमा केटीहरूका लागि सुरक्षित बनाउन सक्ने सरकार चाहन्छु”, उहाँले भन्नुभयो ।

मध्य सहर मुल्तानमा आयशा बिबीले आगामी सरकारले ग्रामीण महिलाहरूका लागि धेरै स्कूल उपलब्ध गराउनुपर्ने बताउनुभयो । “हामी पैदल र फेरि ट्र्याक्टर ट्रेलरमा चढेर यहाँ आएका हौँ, यो अत्यन्त कठिन यात्रा थियो”, उहाँले भन्नुभयो ।

पहिला नै हिंसाबाट प्रभावित निर्वाचनको सुरक्षाका लागि छ लाख ५० हजारभन्दा धेरै सेना, अर्धसेना र प्रहरी परिचालित गरिएको थियो ।

निर्वाचन सुरक्षा विवरणहरूलाई लक्षित गरी दुई अलग–अलग आक्रमणमा कम्तीमा सात अधिकारीको मृत्यु भएको थियो । अधिकारीहरूले दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सानो विस्फोटमा दुई जना घाइते भएको बताएका छन् ।

बुधबार प्रान्तको उम्मेदवारहरूको कार्यालयबाहिर भएको दुई बम विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको र ३० भन्दा धेरै घाइते भएका थिए । इस्लामिक स्टेट समूहले केही घन्टापछि उक्त आक्रमण गरेको दाबी गरेको थियो ।

मोबाइल फोन बन्द गर्नु उचित भएको भन्दै गृह मन्त्रालयका एक प्रवक्ताले भन्नुभयो, “कानून र व्यवस्थाको अवस्था कायम राख्न र सम्भावित खतरासँग सामना गर्न सुरक्षा उपाय आवश्यक छ ।”

विदेश मन्त्रालयले सुरक्षा उपायका रूपमा छिमेकी इरान र अफगानिस्तानसँगको भूमि सिमाना पनि बिहीबार सबै यातायातका लागि बन्द गरिने बताएको छ । विश्वको पाँचौँ सबैभन्दा धेरै जनसङ्ख्या अर्थात २४ करोड मानिसको आणविक हतियारयुक्त मुलुकमा निर्वाचनको आँकडा अचम्मको छ ।

निर्वाचनमा करिब १८ हजार उम्मेदवार राष्ट्रिय र चार प्रान्तीय विधानसभाका सिटहरूका लागि उठेका छन् । यसमा दुई सय २६ सिटमा प्रत्यक्ष प्रतिस्पर्धा भएको छ । अतिरिक्त ७० सिट महिला र अल्पसङ्ख्यकहरूका लागि आरक्षित छन् । क्षेत्रीय संसद्हरूमा सात सय ४९ सिट छन् ।

बिहीबारको निर्वाचनको परिवेश सन् २०१८ को निर्वाचनजस्तै छ तर पासा पल्टिएको छ । सन् २०१८ को निर्वाचनमा भ्रष्टाचारका लागि दोषी ठहरिएका कारण शरिफलाई निर्वाचनमा उम्मेदवारी दिन अयोग्य घोषित गरिएको थियो र खान सेनाको समर्थन र वास्तविक समर्थनका साथ सत्तामा आउनुभएको थियो ।

बिहीबार लाहोरको एक विद्यालयमा आफ्नो मतदान गर्दा शरिफले शासन गर्नका लागि सेनासँग कुनै सम्झौता गरेको कुरालाई अस्वीकार गर्नुभयो । “वास्तवमा मलाई सेनाबाट कुनै पनि समस्या छैन”, उहाँले भन्नुभयो ।

मतदान समूह ग्यालप पाकिस्तानका कार्यकारी निर्देशक बिलाल गिलानीले पाकिस्तानको निर्वाचनको इतिहास धाँधलीको आरोपले भरिएको तर पक्षपातपूर्ण पनि रहेको बताउनुभयो । “यो एक व्यवस्थित लोकतन्त्र हो जसलाई सेनाले चलाउँछ”, उहाँले भन्नुभयो ।

यसअघिको निर्वाचनविपरीत यस निर्वाचनमा विपक्षी दलको नाम मतपत्रबाट हटाइँदा पिटिआईले चयन गरेका उम्मेदवारहरूले निर्दलीयका रूपमा निर्वाचन लड्न बाध्य हुनुपरेको छ ।

सन् १९९२ को विश्वकपमा पाकिस्तानलाई जिताउने पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर खानलाई गत साता देशद्रोह, भ्रष्टाचार र अवैध विवाहका लागि लामो कारागार सुनाइएको थियो । खानलाई अदियाला कारागारबाट हुलाक मतपत्र पठाउन अनुमति दिइएको पिटिआईका एक अधिकारीले बताउनुभएको छ ।

विश्लेषकहरूले चरित्र हत्याले पिटिआईले चयन गरेका उम्मेदवार अझै पनि बिहीबारको मतदानमा निर्णायक साबित हुनसक्छन् भन्नेमा सेना कति चिन्तित छ भन्ने पत्ता लागेको बताएका छन् ।

यदि शरिफले सत्तारूढ बहुमत जित्नुभएन भने सम्भवतः उहाँले एक वा धेरै साना सहयोगीहरूसँग गठबन्धनमार्फत सत्ता सम्हाल्नुहुनेछ । यसमा पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) पनि सामेल छ । पिपिपी अहिले बिलावल भुट्टो जर्दारीको नेतृत्वमा परिवारले चलाएको अर्को वंश हो ।

पर्यवेक्षकहरूका अनुसार जसले जिते पनि उसले अर्थतन्त्र चकनाचुर भएको गहिरोसँग विभाजित मुलुकमाथि कब्जा गर्नेछ । पाकिस्तानमा मुद्रास्फीति करिब ३० प्रतिशतको हाराहारीमा छ । पछिल्लो तीन वर्षदेखि पाकिस्तानी मुद्राको लगातार अवमूल्यन भइरहेको छ र भुक्तानी सन्तुलन घाटाले आयात रोकिँदा औद्योगिक विकास गम्भीररूपमा प्रभावित भइरहेको छ । एएफपी

Facebook Comments