Wed. May 8th, 2024

शेयर बजार १४ अंकले वृद्धि

काठमाण्डू, २०८० माघ २२ गते सोमबार । साताको दोस्रो कारोबार दिन आज शेयर बजार बढेर बन्द भएको छ । कारोबार अवधिको अधिकांश समय करिब स्थिर रहेको शेयर बजार मापक नेप्से अन्तिम समयमा वृद्धि भएको हो । आज नेप्से परिसूचक १४.५७ अंक बढेर २०७६.२७ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ ।

हिजो ३ अर्बको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल टेलिकम, पिपुल्स पावर र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, जोशी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने गुराँस लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले बढेको छ । स्वाभिमान लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ६.७८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज १८ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, ङादी ग्रुप पावरको करिब साढे १५ करोडको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.६८ प्रतिशतले वृद्धि भएको छ । होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक आज घटेको छ ।

Facebook Comments