Sat. Apr 27th, 2024

कृषि तथा पशु मेला प्रदर्शनी : ४३ जना  किसान पुरस्कृत     

खोटाङ, २०८० माघ १७ गते बुधबार । कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

पुरस्कृत हुने किसानलाई पशुतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन हजार, दुई हजार पाँच सय र दुई हजार तथा बालीतर्फ प्रथम, द्वितीय र तृतीय हुने किसानलाई क्रमशः रु दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । प्रदर्शनीमा एक सय २० कृषि उपज राखिएको थियो । मेलामा कृषि उपजसँगै भैँसी, बाख्रा र भेडासमेत प्रदर्शनीमा राखिएको थियो ।

पुरस्कृत तथा सम्मानित हुने किसानलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र नगर उपप्रमुख विशन राईले मङ्गलबार संयुक्तरूपमा नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । दिक्तेलस्थित हाटडाँडामा आयोजित सो प्रदर्शनी करिब पाँच सय जनाले अवलोकन गरेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभएको छ ।

प्रदर्शनीमा फलफूल, तरकारी, दलहन तथा तेलहन, प्रशोधित कृषि उपज, राडीपाखी, छालाजुत्ता, ढाका कपडालगायत प्रदर्शनी कक्षमा राखिएको थियो । यही माघ१५ र १६ गते आयोजित कृषि तथा पशु मेला प्रदर्शनीमा विभिन्न विाद्यालयका विद्यार्थीले समेत अवलोकन गरेको जनाइएको छ । प्रदर्शनीमा नगरपालिकाभित्रका किसान समूह तथा किसानलाई मात्र सहभागिताका लागि अवसर दिइएको थियो । प्रदर्शनीले कृषि पेसाप्रति किसानको आकर्षण वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

किसानलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहले कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रम गर्दै आएको छ । दश स्थानीय तह रहेको जिल्लामा कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर निर्वाहमुखी कृषि प्रणालीलाई बिस्थापित गर्दै आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्न सबै स्थानीय तहले नीति तथा कार्यक्रमसमेत बनाएर लागू गरेका छन् ।

जिल्लाका सबै स्थानीय स्थानीय तहले कृषिमा अनुदानको व्यवस्था गरेपनि पहुँचका व्यक्तिले मात्र सेवा लिने गरेको गुनासोसमेत आउन थालेका छन् । यद्यपि जिल्लामा पछिल्लो समय व्यावसायिक कृषि पेसा अपनाउने किसानको सङ्ख्या वृद्धि हुँदै गएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर फर्किएका व्यक्ति सबैभन्दा बढी व्यावसायिक कृषि पेसामा लागेका छन् ।
एकीकृत घुम्ती शिविर सञ्चालन 

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमार्फत एक हजार चार सय २३ जना स्थानीय बासिन्दाले गाउँमै सेवा लिएका छन् । चालु आर्थिक २०८०/०८१ को दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य जाँच सेवालागि सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो ।

शिविरमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले नौ सय २२ जनालाई र सामाजिक सुरक्षा भत्ता र ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत पाँच सय एक जनाको स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । “पालिकाबासीको सहजताका लागि हामीले ‘हेल्लो डाक्टर’ कार्यक्रम लगायतका विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएका छौँ । ‘हेल्लो डाक्टर’ कार्यक्रमले २४ सै घण्टा सेवा दिइरहेको छ”, उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका वृद्धवृद्धा तथा असक्तलाई समेत गाउँमै सेवा उपलब्ध गराउने गरेका छौँ । यो कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने योजनामा छौँ ।”

शिविरमा वडा नं १ याम्खाका ८५, वडा नं २ डाँडागाउँका ४५, वडा नं ३ छोरम्बुका एक सय १६, ४ बतासेकाएक सय १०, वडा नं ५ सप्तेश्वर छितापोखरीका ५३, वडा नं ६ छितापोखरीका ६८ र वडा नं ७ टेम्माका एक सय एक जनाको स्वास्थ्य जाँच गरिएको छ हेल्लो डाक्टर कार्यक्रमका संयोजक अहेब सुरेश प्रधानले जानकारी दिनुभएको छ ।

यही माघ ७ गतेदेखि सञ्चालन भएको शिविरमा नेबुलाइजेसन (वाफ लगाउने), मधुमेह, उच्च रक्तचाप जाँच, अक्सिजनको मात्रा, नाडीको गति जाँचका साथै सामान्य औषधि वितरण गरिएको जनाइएको छ । गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् ।

शिविरमार्फत नौ सय २२ जनालाई सातवटै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख यमनलाल श्रेष्ठले जानकारी दिनुभयो । वडा नं १ याम्खाका एक सय दुई,वडा नं २ डाँडागाउँका एक सय ६०, वडा नं ३ छोरम्बुका एक सय ३८, वडा नं ४ बतासेका एक सय ५४, वडा नं ५ सप्तेश्वर छितापोखरीका एक सय १०, वडा नं ६ छितापोखरीका ८९ र वडा नं ७ टेम्माका एक सय ६९ जनालाई उनीहरुको वडामै पुगेर सामाजिक सुरक्षा भत्ताबापतको रु ८१ लाख ६५ हजार पाँच सय रकम वितरण गरिएको जनाइएको छ ।

Facebook Comments