Thu. May 2nd, 2024

प्रम कप क्रिकेट : नेपाल पुलिस क्लब फाइनलमा

काठमाण्डू, २०८० माघ १५ गते सोमबार । गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बन्न सफल भएको हो । यससँगै पुलिसले सातौँ खेलमा सातौं जित निकाल्दै दुई खेल अगाडि नै फाइनलमा स्थान पक्का गरेको छ । पुलिस १४ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । पराजित गण्डकी भने आठवटा खेलमा चार अङ्क जोड्दै अङ्क तालिकाको आठौँ स्थानमा छ ।

गण्डकी प्रदेशले प्रस्तुत गरेको १ सय ७१ रनको लक्ष्य पुलिसले २४ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा ग(यो । पुलिसको जितमा दिलिप नाथले सर्वाधिक ५७ रनको योगदान दिनुभयो । उहाँले ३९ बलमा ६ चौका र चार छक्काको मद्दतले ५७ रन बनाउनु भएको हो। अर्जुन साउदले अविजित ४४ रन बनाउँदा आरिफ शेखले अविजित २७, कुशल भुर्तेलले २२ र शङ्कर रानाले १२ रन बनाउनु भयो ।

गण्डकीका लागि सन्दीप पराजुलीले दुई विकेट लिनुभयो भने कमल परियार र कप्तान विपिन खत्रीले समान एक/एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७० रनको योगफल बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङले सर्वाधिक ५० रनको योगदान दिनुभएको थियो । उहाँले ३९ बलमा ८ चौका र २ छक्काको मद्दतले ५० रन जोड्नु भएको हो । यसैगरी किरण पंगेनी र कमल परियारले समान ३०र३० रन बनाउनु भयो भने समिर कँडेलले २९ र कृष ऐरले १० रन बनाउनु भयो ।

बलिङतर्फ पुलिसका राशिद खानले पाँच विकेट लिए भने करण केसी र ललितनारायण राजवंशीले समान दुईरदुई विकेट झारे । कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

Facebook Comments