कवि महेन्द्र पन्थीको “कोरोना कविता”
- आफुलाई ब्रम्हाण्ड विजेता ठान्ने मनुष्य नाथे भाइरससँग थर्कमान भएको छ ।।
काठमाडौं, २०७६ चैत २७ गते बिहीबार
ऊ दुष्ट त अवश्य थियो
अझ ऊ कायर पनि रहेछ ।
संसारलाई आफ्नै हत्केलामा नचाउँछु भन्थ्यो
तर ऊ आफै नाथे
भाइरससँग थर्कमान छ ।।
भीमकाय हात्तिलाई
आफ्नो ईसारामा नचाउन सक्यो ।
विशाल ह्वेलको भक्षण गर्न सक्यो
तर ऊ सूक्ष्म भाइरससँग डराएर भाग्दैछ ।।
पचायो विच्छी, गंगटा र सर्पहरु
चपायो चमेरा र मुसाहरु ।
भाइरसलाई न चपाउन सक्यो न पचाउन
आज ऊ थर थर काम्दैछ नाथे भाइरससँग ।।
गर्भ निरोधक भ्याक्सिन बनायो
मानवका निम्ति
लिङ्ग पहिचान गरी भ्रुण हत्याको
शिलशीला चलायो
भाइरसको नश्ल पहिचान त
गर्यो उसले
तर सकेन उसले भाइरसको गर्भ
निरोध गर्न
न त गर्न सक्यो भु्रण हत्या नै ।।
चरालाई पिंजडामा कैद गर्दा आनन्द मान्नेले
सिंह, बाघ, चितुवालाई खोरमा थुन्दा बहादुरी ठान्नेले
एउटा भाइरससँग आत्मसमर्पण गर्दै छ
मानिस स्वयं पिंजडामा कैद भएको छ
चिडियाघरको पीडा महसुस गर्दैछ ।।
चन्द्रलोकमा घडेरी किनबेच गर्नेलाई
मङ्गलमा खेतीको सपना देख्नेलाई
आज पृथ्वीको एउटा घडेरी पनि बोझ भएको छ ।
आज ऊ एउटा कोठाको चार दिवारभित्र बन्दी भएको छ
आफुलाई ब्रम्हाण्ड विजेता ठान्ने मनुष्य
नाथे भाइरससँग थर्कमान भएको छ ।।
लिटिल ब्वाय र फ्याट म्यान बनाएकै हो उसले
हिरोसिमा र नागासाकी ध्वस्त गराएकै हो मानव स्वयंले
तर एउटा बम भाइरसको साम्राज्यमा खसाल्न सक्दैन उसले
लङ्का र रोम जलाउने आगो
भाइरसको बस्तीमा सल्काउन सक्दैन उसले
कता हराए सद्दामलाई झुण्डीयाउने जल्लादहरु
कुन कुनामा लुकेका छन् लादेन र सुलेमानीलाई उडाउने मिसाइलहरु
संसारलाई सात पल्ट ध्वस्त गर्छु भन्नेले
नाथे भाइरससँग आत्मसमर्पण गर्दैछ ।।
हिँजोसम्म पैसामा निर्लिप्त थियो ऊ
कात्रोमा समेत पैसाको थैली सिलाउँदै थियो
हिँजो डलरमा आमा बेच्दै थियो
युरोमा धर्म साट्दै थियो
तर आज पैसा छुन समेत डराउँदैछ ऊ
धनको बलमा संसार जित्न खोज्ने मनुष्य
नाथे भाइरससँग भयभीत भएको छ ।।
हिँजो श्वेत र अश्वेतको पर्खाल थियो
छूत र अछूतको सीमाना थियो
तर आज उसलाई सबै मानव अछूत लाग्दैछ
सामाजिक दूरी र भौतिक दूरीको नारा लगाएर
मान्छे मान्छेबाट टाढा भाग्दैछ ।।
हुँदा हुँदा आफ्नै हातदेखि सशंकित छ मान्छे
हिँजो आफ्ना लाग्नेहरु, आज विराना हुँदैछन्
मृत देहमा अँगालो हालेर रुने कोही छैन
मलामी जाने इष्टमित्र छैनन्
सबैलाई आफ्नो ठान्नेहरु पनि नितान्त एक्लिएका छन्
आफूलाई सर्वशक्तिमान ठान्ने मनुष्य
नाथे भाइरससँग पराजित भएको छ ।।
मन्दिर, मस्जिद्, चर्च, विहार केही भनेन
पूजारी, मौलाना, पादरी, भिक्षु कसैको पुकार सुनेन
ट्रम्प, पुटिन, मोदी, सी कसैलाई गन्दै गनेन
भाइरसले कसैलाई पनि आफन्त पराई भनेन
नोबेल कोरोना जसले रोमलाई हल्लायो
वकिंघमलाई थर्कायो
ह्वाइट हाउसलाई तर्सायो
संसारलाई कठपुतली ठान्ने मनुष्य
नाथे भाइरससँग थर्कमान भएको छ ।।
कसैले वेद र महाभारतलाई अकाट्य ठाने
कसैले बाइबललाई त कसैले कुरानलाई सर्वस्व ठाने
अठार पुराणमध्ये भविष्य पुराण लेख्ने व्यासले पनि
भाइरस पुराणको कल्पना गर्न सकेनन्
ज्ञानविज्ञानको संसार जित्छु भन्ने मनुष्य
नाथे भाइरससँग सशंकित भएको छ ।।
हिँजो अरुको विनाशमा रमाउँथ्यो मनुष्य
आज मनुष्यको त्रासदीमा अरुहरु मौन छन्
अमेजन र नाइल आफ्नै गतिमा बगेका छन्
गंगा र विष्णुमती पवित्र बनेर सङ्लिदैछन्
हिमालहरु हिँउले अग्लिदैछन्
वायु स्वच्छ भएर बग्दैछ
ओजोन तह सन्तुलित हुँदैछ
टापुहरु डुबानको त्रासबाट मुक्त हुँदैछन्
जङ्लमा निर्भय डुल्दैछन् मृग शावकहरु
आफ्नै आवाजमा गर्जिंदैछन् बाघ, भालु र सिंहहरु
चराहरु स्वच्छन्द आकाशमा कावा खाँदैछन्
माछाहरु जलाशयमा निर्भय पौडिरहेका छन्
भाइरस आतङ्कसँग अरु सबै बेखवर जस्तै छन्
जल, थल, नभ सबैतिर साशन गर्ने मनुष्य
नाथे भाइरससँग थर्कमान छ ।।
–महेन्द्र पन्थी
स्थाई ठेगाना : मदाने–७ गुल्मी
हाल :उपप्राध्यापक त्रिभूवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पा
२०७६ चैत्र १९ गते