Tue. May 21st, 2024

शेयर बजार मापक नेप्से बढेसँगै आज कारोबार रकम पनि उच्च

भिओके समाचार/२०८० माघ २ गते मंगलबार । शेयर बजार आज उच्च अ‌ंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से बढेसँगै आज कारोबार रकम पनि उच्च दरले बढेको छ । आज नेप्से परिसूचक ५४.५४ अंक बढेर २१७५.१७ विन्दुमा पुगेको छ ।

आज ८ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । करिब २ वर्षपछि नेप्सेको कारोबार रकम ८ अर्ब नाघेको हो । यस अघि २०७८ माघ २० गते साढे ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । सोपश्चात आज नै ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो ।

आज एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ८ वटा जलविद्युत कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएका छन्। त्यसैगरी, अन्य ८ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको  छ। ६३ स्टकको मूल्य भने घटेको छ । जसमध्ये ज्योति विकास बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ९.९९ प्रतिशत घटेको छ । हिमालयन ८०-२० को इकाईमूल्य ९.७० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । निफ्राको २३ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम २१ करोड नाघेको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.७५ प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

Facebook Comments