Fri. May 17th, 2024

नेकपा (एकीकृत समाजवादी) भारतसँग भएका पछिल्ला सम्झौताप्रति असन्तुष्ट

काठमाण्डू, २०८० माघ १ गते सोमबार । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले भारतसँग भएका पछिल्ला सम्झौताप्रति असन्तुष्टि जनाउँदै सरकारसँग सबै सम्झौताका दस्ताबेजहरु माग्ने भएको छ ।

आज पार्टी कन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा नेपाल र भारतको बीचमा भएका सम्झौताहरु सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो । उहाँले विभिन्न देशसँग भएका नेपालको प्राकृतिक श्रोत, साधन, उर्जा, जलश्रोत लगायतका सम्झौताहरु माग गरी पार्टीले अध्ययन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भारतसँग सरकारले गरेका पछिल्ला सम्झौताहरु संवेदनशील रहेको बताउनु भयो । बैठकले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुको कामको प्रगति विवरण पार्टीमा बुझाउन निर्देशन दिएको छ । पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनबाट उम्मेदवार बनेकाहरुलाई जिताउन पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

बैठकले यही माघ ८ गते पार्टीको महाधिवेशनको सन्दर्भमा तयार गरिने र गरिएको मस्यौदा राजनीतिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्न समितिको बैठक पनि बोलाएको छ ।

Facebook Comments