Sat. May 4th, 2024

इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा, १३६ जना अझै बन्धक

ग्वायाक्विल, इक्वेडर, २०८० पुस २९ गते आईतबार । इक्वेडरका कैदीहरूले बन्धक बनाएका ४० जना भन्दा बढी जेल अधिकारीहरूलाई मुक्त गरिएको जेल प्रशासनले शनिबार जनाएको छ ।

कैदीहरूले बन्धक बनाएका २४ जना गार्ड र १७ जना प्रशासनिक कर्मचारीलाई ‘रिहा गरिएको कारागार प्रशासनले जनाएको छ । प्रशासनले यसबारे थप विस्तृत विवरण भने उपलब्ध गराएको छैन । बन्धक बनाइएका १३३ जना गार्ड र तीन कर्मचारी अझै रिहा हुन सकेका छैनन् ।

राष्ट्रपति डेनियल नोबोआले यसै हप्ता आपराधिक समूहहरूलाई सैन्य कारबाही सुरु गरेपछि दक्षिण अमेरिकी राष्ट्रमा नार्को गिरोहसँग घातक मुठभेड सुरु भएपछि ती कामदारहरूलाई बन्धक बनाइएको थियो ।

यो सङ्कट देशको सबैभन्दा शक्तिशाली ड्रग कारोबार गर्ने समूहका एक नाइके फिटो भनिने जोस एडोल्फो म्यासियासको ग्वायाक्विल जेलबाट भागेपछि उत्पन्न भएको थियो ।
फिटो भागेपछि जेलमा दङ्गा, बन्धक बनाउने र प्रहरीमाथि आक्रमणहरू भएका थिए ।

भागेका कैँदीलाई खोज्न र बन्धकलाई रिहा गर्न स्थल, हवाई र समुद्री गस्तीका लागि २२ हजारभन्दा बढी सैनिक तैनाथ गरिएको छ । अधिकारीहरूले शहरका मुख्या भागमा कर्फ्यु लगाइ जेलहरूमा छापा मारेका छन् ।

पेरुसँगको सीमा नजिक एल ओरोमा शनिबार कैदीहरूसँगको झडपमा मारिएका एक गार्डसहित कम्तीमा १९ जनाको हिंसामा मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

दक्षिणपश्चिमी माचला कारागारमा ‘सशस्त्र भिडन्त’ भएपछि सेना र प्रहरीले ‘सुव्यवस्था र सामान्य स्थिति बहाली’ का लागि छ वटा शहरका हिरासत केन्द्रमा छापा मारेका थिए ।

ग्वायाकिल कारागारपरिसरबाट शुक्रबार साँझ कम्तीमा पाँच जना कैदी भागेका थिए र तीमध्ये दुई जनालाई खोजी अभियानका क्रममा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरू भागेलगत्तै सहरको उत्तरी बाहिरी इलाकामा रहेको विशाल कारागारको वरपर दुईवटा हेलिकप्टर र ड्रोन उडिरहेको देखिएको थियो ।

इक्वेडरका कुख्यात अपराधीहरूलाई राखिएको कारागारको वरिपरि सैनिकहरूको सहयोगमा दर्जनौं प्रहरी अधिकारीहरू गस्ती गरिरहेका छन् ।

कुनै समय प्रमुख कोकिन उत्पादकहरूको बीचमा अवस्थित शान्तिको किल्ला, इक्वेडर संयुक्त राज्य अमेरिका र यूरोपमा लागुऔषध ढुवानी गर्न यसको बन्दरगाह प्रयोग गर्ने अन्तर्राष्ट्रिय कार्टेलहरूको वर्षौंको बढ्दो नियन्त्रणपछि सङ्कटमा फसेको छ ।

करिब १ करोड ७० लाख जनसङ्ख्या रहेको यो देशमा आपराधिक गिरोहका २० हजारभन्दा बढी सदस्य रहेको अनुमान गरिएको छ ।

पछिल्लो आधिकारिक रिपोर्टअनुसार ८५९ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको छ, २५ जना फरार कैदीलाई पुनः पक्राउ गरिएको छ, पाँच जना ‘आतङ्ककारी’ मारिएका छन् र ५७ जना अपहृत व्यक्तिहरूलाई रिहा गरिएको छ ।

माचला कारागारमा कैद गरिएको र प्रहरीले पुष्टि गरेको एउटा डरलाग्दो भिडियोमा कैदीहरूको नियन्त्रणमा रहेको कारागारभित्रबाट प्लास्टिकमा बेरेर सडकमा फ्याँकिएको कैदीको शव देखिन्छ ।

पछिल्ला दिनहरूमा पक्राउ परेका संदिग्ध गिरोहका सदस्यहरूलाई उपहास गरिएको, गीत गाउन बाध्य पारिएको, एकअर्कालाई कुटपिट गरेको वा सैनिकहरूले दुव्र्यवहार गरेको अन्य तस्बिरहरू सार्वजनिक भएका छन् । एएफपी

Facebook Comments