“कोरोना” मानव इतिहासमै सबैभन्दा धेरै पटक उच्चारण गरिएको नाम
- कोरोना त्रासकै कारण लगभग २ अर्ब मानिसहरु घरभित्रै बस्न बाध्य
काठमाडौं, २०७६ चैत २५ गते मंगलबार
-रमेश हतुवाली
चीनको उहान शहरमा सन् २०१९ को डिसेम्बरमा देखा परेको कोरोना भाइरस यत्तिवेला माहामारीको रुपमा विश्वभरी नै फैलिएको छ ।
कोरोना भाइरसले हालसम्म १ सय ८४ देश र क्षेत्रलाई प्रभावित बनाएको छ । पछिल्लो जानकारी अनुसार यस भाइरसबाट विश्वमा १३ लाख ४६ हजार ५ सय ६६ जना मानिसहरु संक्रमित भएका छन् भने ७४ हजार ६ सय ९७ जनाको मृत्यु भैसकेको छ । त्यसैगरी २ लाख ७८ हजार ६ सय ९५ जना उपचारपछि फर्किएका छन् ।
यस भाइरसले चीनमा ८१ हजार ७ सय ४० जनालाई संक्रमित पारेको थियो भने ३ हजार ३ सय ३१ जनाको ज्यान गएको थियो ।
विश्वको सर्वशक्तिमान राष्ट्र अमेरिका यत्तिवेला यस भाइरसको कारण नराम्रोसँग प्रभावित भएको छ । हालसम्म अमेरिकामा ३ लाख ६७ हजार ४ जनामा कोरोनाको संक्रमण देखिएको छ भने १० हजार ८ सय ७१ जनाले ज्यान गुमाएका छन् ।
युरोपीयन मुलुकहरु स्पेन, इटाली, जर्मनी, फ्रान्स, बेलायत पनि यस भाइरसको संक्रमणबाट नराम्रोसँग प्रभावित भएका छन् । स्पेनमा हालसम्म १ लाख ३६ हजार ६ सय ७५ जनामा संक्रमण देखिएको छ भने १३ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । इटालीमा १ लाख ३२ हजार ५ सय ४७ जनामा संक्रमण देखिएको छ भने १६ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ३३ हजार ७५ जनामा संक्रमण देखिएको छ भने १ हजार ८ सय १० जनाको मत्यु भएको छ । फ्रान्समा ९८ हजार १० जनामा संक्रमण देखिएको छ भने ८ हजार ९ सय ११ जनाको मृत्यु भैसकेको छ । बेलायतमा ५१ हजार ६ सय ८ जनामा संक्रमण देखिएको छ भने ५ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ ।
इरानमा ६० हजार ५ सय जनामा संक्रमण देखिएको छ भने ३ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा ४ हजार ७ सय ७८ जनामा संक्रमण देखिएको छ भने १ सय ३६ जनाको मृत्यु भैसकेको छ ।
नेपालमा ९ जनामा संक्रमण देखिएको छ । हामीले अफुलाई भाग्यमानी नै सम्झनु पर्छ कि हालसम्म हामीले कसैको मृत्युको खवर सुन्नु परेको छैन ।
“कोरोना” मानव इतिहासमै सबैभन्दा धेरै पटक उच्चारण गरिएको नाम
“कोरोना” भन्ने शब्द आज यत्ति चर्चित भैसकेको छ कि जसको उच्चारण सायद विश्वका कमै मानिसहरुले मात्र नगरेका होलान । समाचारपत्र, रेडियो, टेलिभिजन, अनलाईन, सामाजिक सञ्जाल सबैमा कोरोनाको नाम यत्ति धेरै पटक छापिएको वा उच्चारण गरिसकिएको छ कि सायद यत्ति धेरै छपाई वा उच्चारण मानव इतिहासमै अन्य केही वा कसैको गरिएको होस् । मोवालय वा टेलीफोनमा कुराकानी होस् वा एक मानिसले अर्को मानिससँग भेट गर्दा उच्चारण गरिने पहिलो शब्द नै कोरोना भएको छ ।
कोरोनाले हालसम्म के के उत्पात गरायो त ?
१. ७४ हजार ६ सय ९७ जना मानिसहरुको ज्यान लिई सकेको छ ।
२. १३ लाख ४६ हजार ५ सय ६६ जना मानिसहरु यसको पासोमा परिसकेका छन् ।
३. विश्वका लगभग २०० देश र क्षेत्रहरुमा यसले प्रभाव जमाई सकेको छ ।
४. लगभग २ अर्ब मानिसहरु मानव इतिहासमै सम्भवतः पहिलो पटक घरभित्रै बस्न बाध्य छन् ।
५. विश्वका लगभग १ सय ५० भन्दा बढी देशहरुमा लकडाउन घोषणा गरिएको छ । जसका कारण सार्वजनिक सवारी साधन(वस, कार, रेल, हवाईजहाज, पानी जहाज आदि) पूर्ण रुपमा बन्द छन् ।
६. विश्वको मै हुँ भन्ने मुलुक अमेरिका पनि यस भाइरसको कारण त्राही त्राही भएको छ । कोरोना भाइरसले ट्रम्प प्रशासनको सातो लिएको छ ।
७. कोभिड-१९ का कारण विश्व नै महामारीको चपेटामा परेपछि विभिन्न राष्ट्रहरुले सम्पूर्ण पुरै देश ठप्प पारेका छन् ।
८. बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोना भाइरस संक्रमित बेलायतका प्रधानमन्त्री आइसियुमा भर्ना हुन बाध्य हुनुभएको छ ।
९.बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको छ । कोरोनाले अमेरिका, चीन, वेलायत, भारत, ब्राजील, फ्रान्स जस्ता मुलुकहरुको अर्थतन्त्रको ढाड नराम्ररी खुस्काउने निश्चित छ । त्यसैगरी विकासोन्मुख देशहरुको अर्थतन्त्र पनि यस भाइरसको कारण वर्षौसम्म प्रभावित हुने निश्चित छ ।
१०. क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमतीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।
११. कोरोना संक्रमणको त्रासको कारण अप्रिल ५, २०२० आईतबारको राती ९ बजेदेखि ९ मिनेटसम्म भारतका जनताले भव्य दिपावली गरेका छन् । भारतमा वर्षमा दुई पटक यत्ति भव्य दिपावली गरिएको यो इतिहासकै पहिलो दिन हो भन्दा फरक पर्दैन ।
कोरोना सम्बन्धि विशेष सामग्री अब युनिसेफबाट
‘नोभल’ कोरोना भाइरस के हो?
युनिसेफका अनुसार नोभल कोरोना भाइरस (CoV) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो।
नोभल कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड–१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९–एन–कोभि (2019-nCoV)’ भन्ने गरिएको थियो।
कोभिड–१९ भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ।
कोभिड–१९ कसरी फैलिन्छ?
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनबाट (खोक्दा वा हाच्छ्युँ गर्दा) उत्पन्न भएको श्वासप्रश्वासजन्य सूक्ष्म थोपाहरूबाट र भाइरसबाट संक्रमित सतह/वस्तुहरू छुँदा यो भाइरस सर्ने गर्दछ।
कुनै पनि स्थान तथा सतहमा कैयौं घण्टासम्म कोभिड–१९ भाइरस जिवित रहन सक्छ तर सामान्य जिवाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोनाभाइरसका लक्षणहरू के के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु तथा स्याँस्याँ हुनु यसका लक्षणहरू हुन्। जटिल अवस्थामा यसको संक्रमणले निमोनीया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै सघन संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ, जुन हालसम्म निकै न्युन रहेको छ।
यि लक्षणहरू ईन्फ्लुएन्जा (फ्लु) वा सामान्य रुघाखोकीका लक्षणहरू जस्तै देखिन्छन, जुन कोभिड–१९ भन्दा धैरै देख्न सकिन्छ। त्यसकारण कसैलाई कोभिड–१९ को संक्रमण भएको हो वा होईन भनेर निर्क्योल गर्नकालागि परिक्षण नै गर्नुपर्ने हुन्छ। यसबाट जोगिनका लागि अपनाइने उपायहरू पनि उस्तै नै छन्, जस्तै नियमित हात धुनु र श्वासप्रश्वास सम्बन्धी व्यवहारमा ध्यान पुर्याउनु (खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी–रुमालको प्रयोग गर्नु र त्यसपश्चात उक्त कागजी–रुमाललाई बन्द फोहोरदानीमा फाल्नु)।
के मैले (स्वास्थ्यकर्मीहरूले लगाउने) मास्क लगाउनु पर्दछ?
यदि तपाईंलाई श्वासप्रश्वास सम्बन्धी समस्याको लक्षण देखिएको छ भने आफ्नो संक्रमण अरुलाई नसरोस् भनि मास्कको प्रयोग गर्नुहोस्। अन्यथा कुनै लक्षण नदेखिएको अवस्थामा मास्कको प्रयोग आवश्यक छैन।
मास्क लगाइएको छ भने त्यसको प्रभावकारिता बढाउन तथा भाइरसको थप संक्रमणबाट जोगिन उपयुक्त तवरले प्रयोग गर्न र प्रयोग पश्चात व्यवस्थित रूपमा फ्याक्न जरुरी हुन्छ।
मास्कको प्रयोग मात्रले संक्रमण रोक्न सम्भव नहुने भएकोले अन्य उपायहरू पनि अपनाउन जरूरी हुन्छ – जस्तै: नियमित रुपमा साबुन लगाएर हात धुने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने, रुघाखोकी वा फ्लुका लक्षणहरू (ज्वरो, हाच्छ्युँ र खोकी) देखिएका व्यक्तिबाट टाढै बस्ने।
के कोभिड-१९ ले बालबालिकालाई असर गर्छ?
यो एक नयाँ प्रकारको भाइरस भएको कारण यसले बालबालिका तथा गर्भवती महिलालाई कसरी असर गर्छ भन्ने बारे विस्तृत जानकारी उपलब्ध छैन। यस भाइरसले सबै उमेरका मानिसमा संक्रमण गर्नसक्ने भएतापनि हालसम्म बालबालिकाहरूमा कोभिड-१९ को संक्रमण तुलनात्मक रुपमा कमै मात्र पाईएको छ। हालसम्म कोभिड-१९ का कारण मृत्यु भएको संख्या एकदमै न्युन छ, जसमा पहिल्यै देखि स्वास्थ्य सम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकहरू पर्दछन्।
मेरा बालबालिकामा कोभिड-१९ का लक्षण देखिएमा के गर्ने?
कोभिड-१९को लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु पर्दछ तर कृपया याद राख्नुहोस् – खोकी र ज्वरोजस्ता सामान्य रुघा-खोकीको लक्षण र कोभिड-१९को लक्षण उस्तै देखिन सक्छन् र हालको मौसममा धेरैलाई सामान्य रुघाखोकी मात्रै लागेको हुनसक्छ।
नियमित रुपमा हात धुने जस्ता हात तथा श्वासप्रश्वासको सरसफाईका आनिबानीमा विशेष ध्यान दिंदै बालबालिकालाई खोपपनि अध्यावधिक गर्नुहोस् ताकि उनीहरूलाई अन्य भाइरस तथा ब्याक्टेरियाबाट हुने संक्रमणबाट जोगाउन सकियोस्।
आफ्ना बालबालिकामा फ्लु जस्ता श्वासप्रश्वास सम्बन्धी अन्य संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् र अरूलाई संक्रमणबाट जोगाउन भिडभाड हुनसक्ने कार्यालय, विद्यालय, सार्वजनिक यातायात जस्ता सार्वजनिक स्थानबाट टाढै रहनुहोस्।
परिवारको सदस्यमा लक्षण देखिएमा के गर्ने?
तपाईं आफु वा आफ्ना बालबालिकामा ज्वरो आएमा, खोकी लागेमा वा सास फेर्न कठिनाई भएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। आफु कोभिड-१९को संक्रमण भएको स्थानमा गएको वा उक्त स्थानहरूमा पुगेका र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका अन्य कोहि सँग सम्पर्कमा आएको भएमा स्वास्थ्यकर्मीलाई प्रत्यक्ष भेट्नु भन्दा पहिल्यै (फोन गरेर) जानकारी दिनुहोस्।
के मैले मेरा छोराछोरीलाई विद्यालय जानबाट रोक्नुपर्दछ?
यदि तपाईंका बालबालिकामा यसका लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् र स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्। अन्यथा श्वासप्रश्वास सम्बन्धी (सामान्य रुघाखोकी) समस्या देखिएमा अन्य समयमा जस्तै घरैमा मनग्गे आराम गराउनुहोस् र अरूमा संक्रमण हुनबाट जोगाउन सार्वजनिक स्थानहरुमा नजानुहोस्।
यदि तपाईंका बालबालिकामा यसका कुनैपनि लक्षण देखिएका छैनन् र सार्वजनिक रुपमा कुनै स्वास्थ्यसम्बन्धी आधिकारिक निषेधाज्ञा वा सम्बन्धित विद्यालय बारे निषेधात्मक सुचना जारी भएको छैन भने बालबालिकालाई विद्यालय पठाउनु नै उपयुक्त हुन्छ।
बालबालिकालाई विद्यालय नपठाउनुको विकल्पमा बरू उनीहरूलाई विद्यालय र अन्यत्रका लागि पनि काम लाग्ने गरि श्वासप्रश्वास सम्बन्धी असल व्यवहार सिकाउनुहोस्, जस्तै: नियमित रुपमा हात धुने (विस्तृत विधि तल हेर्नुहोस्), खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक तथा मुख छोप्ने र प्रयोग पश्चात त्यसलाई बन्द फोहोरदानीमा फाल्ने, राम्रोसँग हात नधोईएको अवस्थामा हातले आँखा, नाक वा मुख नछुने आदि।
हात धुने उत्तम तरिका के हो?
- बगिरहेको पानीमा हात भिजाउने,
- भिजेको हातमा मनग्गे साबुन लगाउने,
- हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने,
- बगिरहेको पानीले राम्ररी हात पखाल्ने,
- सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने।
नियमित रुपमा हात धुनुहोस् – खासगरि खाना खानु भन्दा अगाडि, र सिंगान पुछ्नु, खोक्नु, हाच्छ्युँ गर्नु, र शौचालय जानु आदि गरिसकेपछि।
यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैं साबुन पानीले हात धुनुहोस्।
यात्रा गर्दा आफ्नो परिवारका लागि के कस्तो सावधानी अपनाउन पर्ला?
वैदेशिक यात्रा गर्दा उक्त देशमा लागु गरिएको यात्रा सम्बन्धी निर्देशनहरू जस्तै प्रवेशमा निषेध, क्वारेन्टाईनको आवश्यकता आदिको अध्ययन गर्नुहोस्।
नियमित अपनाइने यात्रा सम्बन्धी सावधानीहरू बाहेक स्वदेश फर्केपश्चात क्वारेन्टाईन हुन र प्रवेशमै निषेध हुनबाट जोगिन अन्तराष्ट्रिय हवाई यातायात संघको वेबसाईटमा उपलब्ध कोभिड(१९ सम्बन्धी अध्यावधिक सुचना लिनुहोस्।
यात्राका क्रममा आफु र आफ्ना बालबालिकाले सरसफाईका विधिहरू अपनाउनु होस् – नियमित रुपमा हात धुने वा कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्ने, श्वासप्रश्वास सम्बन्धी असल व्यवहार अपनाउने (खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक र मुख छोप्ने र प्रयोग पश्चात त्यसलाई तत्कालै बन्द फोहोरदानीमा फाल्ने), र खोकिरहेका वा हाच्छ्युँ गरिरहेका व्यक्तिबाट टाढै रहने। यसका साथै जिवाणुनाशक जेल वा क्रिम (स्यानिटाईजर), एक पटक मात्र प्रयोग गरिने कागजी-रुमाल, र पुछ्न प्रयोग गरिने जिवाणुनाशक रुमाल अभिभावकले हरदम आफुसँग राख्नु होस्।
यसका अतिरिक्त बस वा हवाईजहाजमा बसिसकेपछि आफ्नो सिट, हात अड्याउने स्थान, छोएर प्रयोग गरिने स्क्रिन आदिलाई जिवाणुनाशक रुमालले सफा गर्नुहोस्। साथै आफु र आफ्ना बालबालिका बसेको होटल वा अन्य आवासमा प्रयोगमा आउने सतहहरू, ढोका खोल्ने ह्यान्डल, रिमोट-कन्ट्रोल आदिलाई जिवाणुनाशक रुमालले सफा गर्नुहोस्।
के गर्भवती महिलाबाट बच्चामा कोरोनाभाइरस सर्न सक्छ?
हालसम्म उपलब्ध जानकारीका आधारमा गर्भावस्थामा आमाबाट बच्चामा यो भाइरस सर्ने वा नसर्ने तथा उक्त भाइरसले बच्चामा पार्ने असरका बारेमा पर्याप्त तथ्य उपलब्ध छैन। यस विषयमा हाल अध्ययन भइरहेको छ। गर्भवती महिलाहरूले भाइरसबाट जोगिन उपयुक्त सावधानी अपनाउनु पर्दछ र ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ।
कोरोनाभाइरस बाट संक्रमित आमाले स्तनपान गराउनु सुरक्षित हुन्छ?
कोरोनाभाइरस प्रभावित तथा यसको जोखिम भएका स्थानमा बसोबास गर्ने सबै आमाहरूले ज्वरो, खोकी वा सास फेर्न कठिनाईजस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ र प्राप्त सल्लाह अनुसार गर्नुपर्दछ।
स्तनपानको महत्व र भाइरस प्रसारणमा यसको नगन्य भूमिकालाई लाई ध्यानमा राख्दै स्तनपानलाई निरन्तरता दिन सकिन्छ। तर भाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू भने अपनाउनु पर्दछ।
लक्षण देखिएका तर सबल आमाहरूले भने स्तनपान गराउँदा र बालबालिकासँग नजिक हुँदा मास्क लगाउने, बालबालिकाको सम्पर्कमा आउनुभन्दा अगाडि तथा पछाडि हात धुने, संक्रमित वस्तु तथा सतहहरूलाई जिवाणु नाश हुने गरि सफा गर्ने गर्नुपर्दछ जुन अन्य अवस्थामापनि कोभिड-१९ भएको शंकालागेका वा संक्रमित बालबालिका तथा वयस्कहरु सँग अन्तर्क्रिया गर्दा अपनाउनुपर्ने हुन्छ।
आमा निकै नै अस्वस्थ भएको अवस्थामा उनको दुध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिन्छ र भाइरसबाट जोगिनका लागि अन्य सावधानीहरू निरन्तर अपनाउनु पर्दछ।
अहिलेको समयमा म दुर्व्यवहार, भेदभाव र लाञ्छनाका बारेमा चिन्तित छु। अहिले जे भईरहेको छ, त्यसबारेमा कसरी कुरा गर्ने??
अहिलेको अवस्थामा तपाईं कोरोनाभाइरसको कारणले चिन्तित हुनु स्वाभाविक हो। तर भय र त्रासले विद्यमान समस्यालाई झनै जटिल बनाउँछ। उदाहरणका लागि, अहिले एसियाली मुलका मानिसहरूमाथि मौखिक तथा शारिरिक दुर्व्यवहार समेत भएको समाचारहरू आईरहेका छन्।
स्वास्थ्य सम्बन्धी आपतकालीन अवस्था, यसबाट प्रभावित सबैका लागि तनावपूर्ण समय हो। यस्तो समयमा सहि जानकारी लिईराख्नु र एक अर्का प्रति माया र सद्भाव कायम राख्नु महत्वपूर्ण हुन्छ। विद्यमान भेदभावलाई बढावा दिने खालको भाषा र शब्दावलीहरूको प्रयोगले मानिसहरूलाई आवश्यक जाँच गराउनबाट निरुत्साहित गर्न सक्छ र उनीहरू तथा उनीहरूका समुदायनै जोखिममा पर्न सक्छन्।
आफ्ना बालबालिका, परिवार तथा साथीभाइसँग कोरोनाभाइरसको बारेमा कुरा गर्दा निम्नानुसार गर्नुहोस:
👍गर्नुहोस्: कोरोनाभाइरस (कोभिड-१९) को बारेमा कुरा गर्नुहोस् ।
👎नगर्नुहोस्: यो रोगलाई कुनै स्थान वा जाति विशेष सँग नजोड्नुहोस्। याद राख्नुहोस्: भाइरसले कुनै एक जनसंख्या, समुदाय वा जातिलाई मात्र आक्रमण गर्दैन ।
👍गर्नुहोस्: कोभिड-१९ को संक्रमण भएका”, “कोभिड-१९को उपचार गराईरहेका”, “कोभिड-१९ को उपचार पश्चात निको भईरहेका”, वा “कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएका” व्यक्तिहरूका बारेमा कुरा गर्नुहोस्।
👎नगर्नुहोस्: यी व्यक्तिलाई ‘कोभिड-१९ को केस’ वा ‘कोभिड-१९ पिडित’ भनेर नभन्नुहोस्।
👍गर्नुहोस्: मानिसहरूलाई कोभिड-१९ को संक्रमण भएको बारेमा कुरा गर्नुहोस्।
👎नगर्नुहोस्: कसैले “कोभिड-१९ संक्रमण गराएको”, “कोभिड-१९ सारेको” वा “कोभिड-१९ फैलाएको” भनेर नभन्नुहोस् किनभने त्यसो भन्दा उनीहरूले नियतवश संक्रमण फैलाएको तथा यो उनीहरूको दोष भएको ईकित गर्दछ।
👍गर्नुहोस्:तथ्यपरक सुचना तथा सबैभन्दा पछिल्लो आधिकारीक स्वास्थ्य सल्लाहका आधारमा कोभिड-१९ को जोखिमबारे कुरा गर्नुहोस्।
👎नगर्नुहोस्: अपुष्ट हल्लालाई नदोहोर्याउनुहोस् तथा थप नफैलाउनुहोस्, र “महामारी”, “विश्व-विनास” जस्ता त्रास फैलाउनसक्ने अतिशयोक्तिपूर्ण शब्दहरूको प्रयोग गर्नुहोस्।
👍 र अन्तमा यस रोगको रोकथामका प्रभावकारी विधिहरू – जस्तै साबुन पानीले हात धुने तरिका आदिलाई विशेष महत्व दिई सकारात्मक तवरले कुरा गर्नुहोस्। धेरैजसो मानिसका लागि यो रोगको सामना गर्न सम्भव छ। आफु, आफ्नो परिवार तथा अत्यन्तै जोखिममा रहेकालाई सुरक्षित राख्न सरल उपायहरू द्वारा सम्भव छ।