Wed. May 8th, 2024

चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबीच इजराइल-हमास युद्धबारे छलफल

पैचिङ, २०८० मंसिर २० गते बुधबार । चीन र अमेरिकाले उनीहरूका शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजराइल-हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युद्ध फैलिनबाट रोक्नका लागि काम गर्ने सबै पक्षको अनिवार्यतालाई दोहोर्याउनुभयो । मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार ब्लिङ्कनले लाल सागरमा इरान समर्थित हुथी विद्रोहीहरूको हालैको हमलाबारे पनि कुरा उठाउनुभएको छ । विदेशमन्त्री ब्लिङ्कनले उक्त हमलालाई सामुद्रिक सुरक्षा र अन्तर्राष्ट्रिय कानूनका लागि अस्वीकार्य खतरा हो भन्नुभयो । उक्त कानूनको पालना सबै मुलुकले गर्नुपर्ने दायित्व भएको उहाँको भनाइ थियो ।

पैचिङका अनुसार विदेशमन्त्री वाङ यीले इजराइल र हमासबीचको युद्धको सम्बन्धमा ‘सर्वोच्च प्राथमिकता गोली हानाहानलाई रोक्नु र युद्धलाई चाँडोभन्दा चाँडो समाप्त गर्नु रहेको’ मा जोड दिनुभयो । विदेश मन्त्रालयका अनुसार वाङले भन्नुभयो, “प्रमुख मुलुकहरूले निष्पक्षता र न्यायको पालना गर्नुपर्छ, वस्तुनिष्ठता र निष्पक्षतालाई कायम राख्नुपर्छ, शान्ति र तर्कसङ्गतता देखाउनु पर्छ र स्थितिलाई शान्त बनाउन तथा ठूलो मात्रामा मानवीय विपत्तिलाई रोक्नका लागि हरसम्भव प्रयास गर्नुपर्छ ।”

उहाँले द्वन्द्वको दुई राज्य समाधानका लागि बेइजिङको आह्वानलाई दोहोर्याउनुभयो । उहाँले प्यालेस्टिनको भविष्यसँग म्बन्धित कुनै पनि व्यवस्थाले प्यालेस्टिनी जनताको इच्छालाई प्रतिबिम्बित गर्नुपर्ने बताउनुभयो । “चीन यो दिशामा प्रयास गर्नका लागि सबै पक्षसँग मिलेर काम गर्न तयार छ”, उहाँले भन्नुभयो । एएफपी

Facebook Comments