Fri. May 3rd, 2024

एकैसाथ दुई पुस्तक विमोचन

भक्तपुर, २०८० मंसिर ९ गते शनिबार । शिक्षाप्रेमी, भाषाविद्, साहित्यकार एवं मध्यपुरथिमिका संस्कृतिविद् गणेशराम लाछीद्वारा लिखित दुई पुस्तक आज एकैसाथ मध्यपुरथिमिमा विमोचन गरिएको छ ।

बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठले लाछीका दुई पुस्तक ‘कर्मयोगी गणेशराम लाछी र बागमती प्रदेशका मूर्त–अमूर्त सङ्गीत’को विमोचन गर्नुभएको हो ।

विनायक शिक्षा निकेतन, अक्षरमार्ग प्रकाशन, मध्यपुर कला परिषद् र ख्यालिगुलु गुथिले आज संयुक्तरूपमा आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा मन्त्री डा श्रेष्ठले भाषा, साहित्य, गीत, सङ्गीत, कला, संस्कृति देशकै जीवन्त संस्कृति र धरोहर भएकाले यसको संरक्षणमा यस्ता पुस्तक निकै उपयोगी हुने बताउनुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले यहाँको सम्पदा, कला, संस्कृति र मूर्त–अमूर्त सम्पदाको संरक्षणमा लागिरहेको बताउनुभयो । उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमि सम्पदाको सहर भएको चर्चा गर्दै यहाँका कला, संस्कृतिको संरक्षण र पछिल्ला पुस्तालाई जानकारी गराउन यस्ता पुस्तक निकै उपलब्धिमूलक हुने बताउनुभयो ।

नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमिलाई कला, संस्कृतिको जीवन्त सहरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै निकै उपलब्धिमूलक दुई पुस्तक र पुराना पुस्ताका अनुभवलाई पछिल्ला पुस्तासम्ममा लैजानुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति, अक्षर मार्ग प्रकाशनका सूर्यप्रसाद लाकोजु, सुरेशकिरण मानन्धर, ह्दयचन्द्र मिश्रलगायतले लाछीका दुई पुस्तकले मध्यपुरथिमिका कला, संस्कृति, इतिहास, भाषा, गीत, सङ्गीत र सम्पदाको इतिहास भएको चर्चा गर्दै यसले विगतदेखि वर्तमानसम्मका धरोहरलाई जोगाएर राख्ने बताउनुभयो ।

राससका अनुसार साहित्यकार, भाषाविद् एवं पुस्तक लेखक लाछीले कला, संस्कृति, साहित्य र सम्पदाको संरक्षण, संवर्द्धनमा आफूले भोगेका र गरेको कार्यलाई प्रस्तुत गरेको बताउनुभयो । दोस्रो पुस्तकमा भने बागमती प्रदेशभरिका मूर्त र अमूर्त गीत–सङ्गीतको संरक्षण गर्ने उद्देश्यले यहाँलाई पुस्तकमार्फत संस्थागत गर्ने प्रयास गरेको बताउनुभयो ।

मध्यपुरकला परिषद्का अध्यक्ष सन्तकुमार प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखक लाछीको ७५औँ जन्मोत्सवको अवसरमा विभिन्न संस्थाले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

Facebook Comments