Sat. May 4th, 2024

सरकार विरोधी प्रदर्शनमा झडप

भिओके समाचार/काठमाण्डू, २०८० मंसिर ७ गते बिहीबार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंका छुट्टाछुट्टै स्थानमा कार्यक्रम गरिरहेका छन् ।

नेकपा एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा सरकारबिरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेत लगायत युवासंघका नेता, कार्यकर्ताहरु सहभागी भएका छन् । युवा संघका नेता कार्यकर्ताहरूले पार्टीको झण्डासहित तीनकुनेमा बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले भ्रष्टाचार, अपराध लगायतका बेथितिबिरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेर विरोध जनाएका छन् ।

व्यवस्था विरुद्ध बल्खुमा प्रदर्शन गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ को जुलुस कालीमाटीतर्फ जान लाग्दा प्रहरीले रोकेको थियो । त्यस क्रममा झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले उनीहरूमाथि पानीको फोहरासमेत प्रहार गरेको छ । प्रहरीले अहिले प्रदर्शनकारीलाई बल्खुमै रोकेको छ ।

यसअघि बल्खुमा दुर्गा प्रसाईंका समर्थक र एमाले निकट युवा संघका कार्यकर्ताबीच झडप भएको थियो । प्रसाईं नेतृत्वको महाअभियानले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवा संघका कार्यकर्ता पुगेपछि दुई समूहबीच ढुङ्गा हानाहान भएको थियो ।

Facebook Comments