Sat. May 4th, 2024

आज हरिबोधिनी एकादशी, देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

- तुलसीको विवाहको दिन

काठमाण्डू, २०८० मंसिर ७ गते बिहीबार । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।

उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढा-टाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउँछन् ।

बूढानीलकण्ठमा आजदेखि कात्तिक शुक्ल पूर्णिमा गतेसम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत बूढानीलकण्ठमा घुइँचो लाग्छ ।

तुलसीको विशेष पूजासहित विवाह गरिँदै    

आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि पूजाआजा सुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । यसैगरी नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको पुजारी शिवप्रसाद पौडेलले बताउनुभयो । जोरपाटीस्थित नारायण मन्दिर, हनुमानढोका दरबार क्षेत्रका विभिन्न नारायण मन्दिरलगायत देशभरका नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको जनाइएको छ ।

नेपालीले आजै घर-घरमा तुलसीको विशेष पूजा गर्दैछन् । आज विशेष पूजा गरी दामोदरसँग तुलसीको विवाह गरिन्छ ।

Facebook Comments