Wed. May 8th, 2024

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक मेला सुरु

रमेश हतुवाली/काठमाण्डू, २०८० मंसिर ५ गते मंगलबार । काठमाण्डूको भृकुटीमण्डपमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक मेला, २०२३ सुरु भएको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रा.लि.को संयुक्त आयोजनामा सो मेला सुरु भएको हो । चाईना ईन्टरनेस्नल बुक टे«डिङ कर्पोरेसनको सहआयोजनामा सुरु भएको सो मेलाको भव्य समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुभारम्भ गर्नु भएको हो ।

सो समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवन उपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उच्च शिक्षाका निम्ति वर्षेनी लाखौँ विद्यार्थीहरु विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक देखिएको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीहरुको विदेश पलायन रहेको स्पष्ट पार्नुभयो । प्रधामन्त्रीले विद्यार्थी देश बाहिर पढ्न जाने र नेपालका विद्यालय र विश्वविद्यालय खालि हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौति बनेको पनि बताउनु भयो ।

 

प्रधानमन्त्री प्रचण्डले शिक्षा नीतिलाई युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशकै विद्यालय, विश्वविद्यालयमाअध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्नुपर्नेमा जोडदिनु भयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले सभ्यताको सन्देश प्रवाह, शान्ति, विकास र क्रस हिमालय साँस्कृतिकआदान प्रदानका लागि पुस्तक मेला महत्वपूर्ण सावित हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले मानव सभ्यताको विकास र प्रगतिका लागि चीन सदैव कटिबद्ध रहने पनि बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुस्तक पढ्नु आफैलाई ताजगीकरण गर्नु भएकाले राज्यले पुस्तक नीतिलाई मस्यौदामा सीमित नराखी नीति जारी गर्न आग्रह गर्नुभयो । पछिल्लो पुस्तामा पढ्ने र पढाउनेले मात्र पुस्तक पढ्नुपर्छ भन्ने संस्कृतिले पठन संस्कृति हराउदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा चाईना ईन्टरनेस्नल बुक टे«डिङ कर्पोरेसनका प्रबन्ध निर्देशक लिउ था ओए चीए, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्मा, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका अध्यक्ष सञ्जय चौधरी, करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रा.लि.का प्रमुख किरण गौतम लगायतले पुस्तक मेलाको बारेमा चर्चा गर्नु भएको थियो ।


मंसिर ९ गतेसम्म सञ्चालनहुने सो मेलामा दक्षिण एसियाका नेपाल, चीन, भारत, बङ्गलादेश, पाकिस्तानलगायत संयुक्त राज्य अमेरिका, इजिप्टसहित १५ वटा भन्दा बढी देशका प्रकाशक, उत्पादक र वितरकहरुको सहभागिता रहेको छ । मेलामा १ सय ८० वटा स्टलहरु रहेका छन् ।

Facebook Comments