Thu. May 2nd, 2024

ओहोदाको प्रमाणपत्र प्रस्तुत   

काठमाण्डू, २०८० कात्तिक २९ गते बुधबार । हङ्गेरीका लागि नेपालका गैरआवासीय राजदूत रामकाजी खड्काले त्यहाँका राष्ट्रपति क्याटलिन नोभाकसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । हङ्गेरीका राष्ट्रपतिको कार्यालय सान्दोर प्रासादमा मङ्गलबार आयोजित विशेष समारोहमा राजदूत खड्काले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको बर्लिनस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

ओहोदाको प्रमाणपत्र पेस गर्नेक्रममा राजदूत खड्काले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट हङ्गेरीका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै हङ्गेरीका जनताको निरन्तर प्रगति एवं शान्तिको कामना गर्नुभएको थियो । राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका साथै नेपाल सरकार र नेपाली जनताकातर्फबाट उहाँले हङ्गेरीका जनताको समुन्नतिको कामना गर्नुभयो ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा नेपाल–हङ्गेरी सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान भएको थियो । त्यस अवसरमा राष्ट्रपति नोभाकले निकट भविष्यमा हुने आफ्नो देशका परराष्ट्र तथा वाणिज्यमन्त्रीको नेपाल भ्रमण दुवै राष्ट्रका निम्ति ऐतिहासिक हुने बताउनुभयो । रासस

Facebook Comments