सिंगो गाउँ सिमी र आलु खेतीमा
म्याग्दी, २०८० असोज २५ गते बिहीबार । बसाइसराईको कारण गाउँ रित्तिन थालेपछि खेतवारी बाँझो रहने क्रम बढेको छ ।
विकासको पहुँच नपुगेका दुर्गम बस्तीहरुमा खेतवारी बाँझो रहने समस्या बढीरहेको बेला म्याग्दीको रघुगंगा गाउँपालिका-८ कुइनेमंगलेका स्थानीयबासीले खेतवारी बाँझो रहने समस्या हटाउन परम्परागत खेतीवालीलाई व्यावसायिक बनाएका छन् । यहाँका स्थानीयबासीले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायिक आलु र सिमीखेती विस्तार गरेका छन ।
परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रुपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको स्थानीय कृषक नरप्रसाद छन्त्यालले बताउनुभयो । उहाँले करिब १५ रोपनी बारीमा लगाउनु भएको आलु भित्रियाइसकेपछि सिमी लगाउनुभएको हो । कुइनेमंगले गाउँमा बसोबास रहेका २१ घरधुरीले नै परम्परागत रुपमा हुने कोदो, मकै, जौ, फापरलगायतका खाद्यबालीलाई छाडेर खायन आलु र घ्यूसिमीको व्यावसायिक खेती शुरु गरेका छन् । चिसो हावापानी भएकाले खाद्यबाली पाक्नसमेत समय लाग्ने र नगद आम्दानी नहुने भएपछि स्थानीयबासीले आयआर्जनका लागि व्यावसायिक आलु र सिमीखेती विस्तार गरेको बताउँछन् ।
जिल्ला कृषि ज्ञान केन्द्र र रघुगंगा गाउँपालिकाले समेत कुइनेमंगलेलाई आलु र सिमी पकेट क्षेत्र घोषणा गरेका छन् । यस गाउँको करिब १ हजार दुई सय रोपनीमा अहिले सिमीखेती गरिएको श्रीकृष्ण कृषि तथा पशुपालन कृषक समूहका सचिव बदेवी छन्त्यालले जानकारी दिनुभयो ।
आलुखेती गरेको सबै बारीमा अहिले सिमी लगाइएको बदेबी छन्त्याल बताउनु हुन्छ । आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गर्ने गरि आलु र सिमीलाई व्यावसायिकरुपमा विस्तार गरिएको उहाँको भनाइ छ । आलु खनेर घरमा भित्रियाइसकेर बिक्रि गर्न थालेका स्थानीयको बारीमा सिमी फल्न थालिसकेको छ । रैथाने खाद्य बाली पाक्न पाँच देखि छ महिना लाग्ने र त्यसले आयआर्जन नहुने अवस्थामा गाउँमा उत्पादन हुने आलु र सिमी बिक्रि गरेर आम्दानी गर्न थालेपछि स्थानीयवासीको आयआर्जनमा सघाउ पु-याएको छ । तीन महिनामै बाली पाक्ने र बजारीकरण गरेर नगद आम्दानी गर्न सकिने भएकाले आलु र सिमीखेतीले व्यावसायिकता पाएको कृषक समूहका अध्यक्ष बिना छन्त्यालले बताउनुभयो ।
सदरमुकाम बेनीदेखि गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै मंगलेखानीसम्म सडकको पहुँच पुगेकाले यहाँ उत्पादन हुने आलु र सिमी बजारीकरणमा सघाउ पुगेको अध्यक्ष छन्त्यालले बताउनुभयो । यो गाउँमा आलुबाट मात्रै बार्षिक रुपमा रु ६० लाख बढी नगद भित्रने गर्छ । यो बर्ष विगत बर्षको तुलनमा आलुको उत्पादन बढेको छ । बजारमा माग नबढेको कारण अझै प्रयाप्त मात्रामा आलु निर्यात हुन नसकेको स्थानीय कृषक निश्मा छन्त्यालले बताउनुभयो । रासस