Thu. Dec 26th, 2024

प्रधानमन्त्री प्रचण्ड पैचिङमा, आज नेपाल-चीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

काठमाण्डू, २०८० असोज ७ गते आईतबार । चीनको ८ दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हाङचौबाट चीनको राजधानी पैचिङ पुग्नुभएको छ ।

अमेरिकाको भ्रमण पुरा गरी हिजो बिहान चीनको हाङचौ पुग्नु भएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चीन फिङबीच हिजै भेटवार्ता भएको थियो । प्रधानमन्त्री प्रचण्ड चिनियाँ राष्ट्रपति सी चीन फिङले आयोजना गर्नुभएको दिवाभोजमा समेत सरिक हुनुभएको थियो । त्यसैगरी हिजो साँझ १९ औं एशियाली खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा पनि प्रधानमन्त्री सहभागी हुनुभयो । आज प्रधानमन्त्री प्रचण्डले पैचिङमा हुने नेपाल-चीन बिजनेस समिटलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । पैचिङस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलनको आयोजना गरेका छन् ।

सो लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी-व्यवसायी सहभागी रहने जनाइएको छ । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।

प्रधानमन्त्री आजै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा सहभागी हुनुहुने छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि चीनको नेसनल पिपुल्स कांग्रेसका स्थायी समितिका अध्यक्ष चाओ लचीसँग भेटवार्ता गर्नुहुने छ । भोलि नै उहाँले आफ्ना चिनियाँ समकक्षी लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ ।

भोल नै नेपालचीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम छ । द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री प्रचण्ड चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्नुहुने छ ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानुहुने छ । तिब्बतमा रहँदा पनि उहाँले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड यही असोज १३ गते नेपाल फर्कनुहुने कार्यक्रम छ । सीएमजी

Facebook Comments