Sat. May 18th, 2024

शेयर बजारसँगै कारोबार रकम पनि घट्यो

काठमाण्डू, २०८० भदौ १९ गते मंगलबार । हिजो थोरै अंकले बढेको शेयर बजार आज पुनः घटेर बन्द भएको छ । गत साताको मंगलबारदेखि ओरालो लागिरहेको शेयर बजार मापक नेप्से हिजो ७ अंक बढेर बन्द भएको थियो तर आज पुनः नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक ६.४५ अंक घटेर १९६१.३७ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ७९ करोड ६८ लाख ७० हजार रुपैयाँको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको शेयरमूल्य ५१ रुपैयाँ बढेर ५६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, नेरुडे लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने इङ्गवा हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको ७ करोड ५८ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ । त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र घोराही सिमेन्ट इन्डष्ट्रीको करिब ३ करोडको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक ०।४६ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०।३८ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक ०।७९ प्रतिशत घटेको छ।

Facebook Comments