नेपालका सबै पार्टी अनि राजादेखि रंकसम्म सबै कम्युनिष्ट हुन ?
- अधिवक्ता पेशलकुमार न्यौपाने
विराटनगर, २०८० भदौ १६ गते शनिबार ।
अधिवक्ता पेशलकुमार न्यौपाने
प्रारम्भ :
कम्युनिष्ट भनेको के हो ? तपाई कम्युनिष्ट किन भएको ? कम्युनिष्टलाई मन पराएर किन भोट हाल्नुहुन्छ ? मैले यो प्रश्न लामो समय देखि कम्युनिष्ट भएर हिडेका नेता कार्यकर्ताहरुलाई सोधेको थिएँ । औसतमा यस्तो जवाफ आयो-
* कम्युनिष्ट भनेको गरिबको पार्टी हो, कम्युनिष्टले गरिबलाई रोजगारी दिन्छ भनेर कम्युनिष्ट भएको थिए । यो राष्ट्रवादी हुन्छ भनेर भोट हालेका हौ । यसले देशको रक्षा गर्छ । नकि मैले अरुलाई मात्रै सोधे बरु आफूले आफैलाई समेत लेखक महोदय, तपाईले माक्सवादको अध्यायन र क्याम्पसमा समाजशास्त्र पढन अघि तपाई कम्युनिष्ट किन भएको ? के बुझेर कम्युनिष्ट भएको ? मेरो मस्तिष्कले सोधेको प्रश्नमा मेरो मनको उत्तर थियो –
* जिउ ज्यान सरकारी, खान पाइन्छ दाल भात तरकारी भन्ने सुनेर
अनि,
* आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरंजनको नारा राम्रो लागेर, फुत्त जवाफ जिब्रोले दियो किनकि सुरुदेखि घोकेको र जानकारी त्यही थियो अरु सैध्दान्तिक कुरा त पछि पढेका न हुन ।
कम्युनिष्ट भनेको के हो ?
अंग्रेजी शब्द Communist को उच्चाहरणलाई नै नेपाली शब्दमा जस्ताको त्यस्तै प्रयोग नेपाली समाजले गरेको पाईन्छ । यसको नेपाली उल्था साम्यवाद भए पनि बोलिचालीको भाषामा नभई साहित्यमा मात्र साम्यवाद प्रयोगमा आएको पाइन्छ ।
साम्यवाद भनेको के हो ?
नेपाली समाजलाई आर्थिक सम्पन्नताको कसीमा विभाजन गर्दा अति उच्च वर्ग, उच्च वर्ग, मध्यम वर्ग, निम्न मध्यम वर्ग र निम्न वर्गमा विभाजित गरिन्छ । तर साम्यवादी व्यवस्थमा यसरी धनि र गरिबको वर्ग हुदैन अथवा भनौं मुलुकमा कोही धनि र कोही गरिब हुदैनन । सबै बराबर र एकै हैसियतका हुन्छन् । आफनो निजी सम्पति बिना जीवन यापन गर्ने पध्दती साम्यवाद हो झन अचल सम्पति घर जग्गा त राज्यको मात्रै हुन्छ । यस सिद्धान्त व्यवस्थापनका पिता कार्लमाक्स हुन् ।
समाजवाद भनेको के हो ?
समाजवाद पनि सर्वहारा राज्यको वर्चश्व, उत्पादन र वितरणमा नाफा रहित, निजी सम्पति नहुनु नै समाजवाद हो । विश्वका कम्युनिष्ट मुलुक भनेर चिनिएका मुलुकहरु चीन, क्युवा, रुस, भियतनाम, लाओस, उत्तर कोरिया आदि समाजवादी मुलुक भनिन्छ ।
नेपालका कम्युनिष्ट र काँग्रेस भनेका के हुन ?
वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको अगुवाईमा स्थापना भएको कम्युनिष्ट पार्टीको घोषणापत्रमा त्यस बखतको भाषा शैलीमा “जिउन योग्य तलब, नोकरीको सुरक्षा, बुढ्याईमा भत्ता, जमिन जोत्नेलाई, बाँझो र पर्ती जमिन खेतालाहरुलाई” भन्ने उल्लेख हुनुले कालमाक्र्स र फ्रेडरिक एंगेल्सले फरबरी १८४८ लेखिए बमोजिमको व्यक्तिगत सम्पतिमा बन्देज नै त भएन नेपाली सामाजिक संरचना बमोजिम जसको जोत उसको पोत भन्ने नारालाई प्रार्थमिकता दिइयो र राज्यको दायित्वमा पनि घोषणा पत्रले जिम्मेवारीपन, थपिएको पाइन्छ ।
वि.सं. २००३ सालमा विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भयो । वि.सं. २००५ सालमा सुवर्ण समशेरले स्थापना गरेको नेपाल प्रजातन्त्र काँग्रेसको एकिकरण भएपछि २००६ सालमा मात्रै हालको “नेपाली काँग्रेस” भएको हो । यसको उद्देश्य पनि समाजवाद नै हो । नेपाली काँग्रेसले पनि आफूलाई समाजवादी पार्टी नै मानेको छ । विशेश्वरप्रसाद कोइरालाको विभिन्न भाषण मध्ये म हरेक नेपालीको जस्ताको छाना भएको घर, कम्तीमा दस कठ्ठा जग्गा र एउटा दुहुनु गाई होस भन्ने चाहान्छु भन्ने भनाई तात्कालिन अवस्थामा लोकप्रिय थियो र यो भनेको राज्यले सबै जनतामा समान वितरणको धारणा राख्नु पर्छ भन्ने नै हो, जो समाजवादको सिद्धान्तको जगमा उम्रिएको हो । नेपाली काँग्रेसको झण्डामा रहेको चार ताराको अर्थ- राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताका सूचक हुन ।
यसरी हेर्दा कम्युनिष्टहरु (साम्यवादी) र काँग्रस समाजवादी सिद्धान्त अंगिकार गरेको देखिए पनि दुवैको गन्तव्य त एउटै रहेछ । आ-आफूले नेतृत्व गरेका पार्टीहरु असल राम्रा सैद्धान्तिक भनेर प्रचार गर्नु र एउटै मिलबाट चामल ल्याएर बेच्ने किराना दोकानेले मेरो चामल असल भनेर विज्ञापन गर्नु एउटै कुरा भएन र ? आँखिरी दोकानदारी चलाउनु न हो ।
के नेपालको राजतन्त्र कम्युनिष्ट थियो ?
वि.सं. २०१७ साल पौष १ गतेको शाही घोषणाले पार्टी माथिको प्रतिबन्ध लगाएपछि राजा महेन्द्रले जारी गरेको नेपालको संविधान २०१९ को धारा १९ को निर्देशक सिद्धान्तमा ”.. सबै क्षेत्रका जनतालाई समान स्थितिमा ल्याउन उचित सुविधाहरु प्रदान गर्ने प्रयास गरी ग्रामिण जनताको आधारभूत आवश्यकता पुरा गर्ने हेतुले” .. भन्ने वाक्यांश्य उल्लेख भएको थियो । भुमि सम्बन्धी ऐन २०२१ लागू हुँदाः
जग्गामा हदबन्दी र चक्लावादी प्रणाली
* जोत्नेलाई जोताहाको निस्सा दिई द्धैद स्वामित्व स्थापना गरी धनि र गरिब दुवै एउटै जग्गामा आश्रित ।
* सुकूम्वासी न्युनिकरण प्रयास
* पुनरवास कम्पनी र नयाँ आवादी व्यवस्था गरेको,
* धर्म भकारी प्रणालीबाट अनिवार्य बचत अनिकाल विरुद्ध सामुहिक प्रयास ।
सबैभन्दा खुंखार तानाशाह राजाको रुपमा चित्रण गरिएका राजा महेन्द्रले आफना शासनकालमा वर्ग विहिनता बनाउने र समाजवादी राज्य व्यवस्था तर्फ उन्मुख संविधान र कानून मात्र निर्माण गरेनन्, भावनात्मक रुपमा कविता पनि यस्तो लेखेँ:
कोही धनि असाध्यै
कोही गरिब माग्ने
सक्दीन देख्न भन्छिन
आमा सन्तान थरी थरीका…….
वर्ग विहिनतालो समाजवादी सिद्धान्त अंगिकार गर्ने अझ समाजवादी सिद्धान्तले माक्सवादी दर्शन अवलम्बन गर्ने भएपछि माक्सवादी सिद्धान्तको आधारशिला के के हुन ? भन्ने प्रश्न उब्जनु स्वभाविक हुन्छ ।
माक्सवादी सिद्धान्तका केही आधारशिलाहरु
(क) वर्ग संघर्ष निरन्तर चलिरहने प्रकृया हो ।
(ख) निजी सम्पति रहन दिनु हुदैन सबै सम्पति राज्यको अधिनस्थ हुनुपर्छ र नागरिकका सबै आवश्यकताको जिम्मा राज्यले लिनुपर्छ ।
(ग) अतिरिक्त मुल्यले शोषण बढाउँछ ।
(घ) उत्पादन र वितरण प्रणाली समनता मुलक नहुँदा समाज वर्गिकरण हुन पुग्छ ।
(ङ) व्यक्ति गरिब हुनु स्रोतको अभावले होइन शोषणको कारले हो । आदि
नेपालीको समाजवादी धारणा कालमाक्सको दर्शनको प्रभाव हो त ?
होइन, हुदै होइन । नेपाली पुरातन समाज भनेको मिलिजुली बसौं, वाडीचुडी खाउँको अवधारणामा आधारित आत्म स्वभिमानी र स्वावलम्बन समाज हो । शहरमा पछिबाट सुकूम्वासीको ओइरो भयो । गाउँमा कोही आफुलाई सुकूम्वासी घोषणा गर्दैन थिए । नुन, मट्टितेल र कपडा बाहेक अरु नकिनेर नै बर्षाै गुजारा चल्थ्यो । यसबाट देशले धेरै कुरा आयात रोकेको थियो बरु निर्यात बढाएको थियो । गाउँ लगभग एउटै वर्गको थियो । नेपाली समाज कालमाक्स जन्मनु भन्दा पहिले देखि नै समाजवादी प्रवृतिको थियो ।
कान्तिपुरका राजा (अहिलेको काठमाण्डौ) महिन्द्र मल्ल वि.सं. १६१७ मा राजा भएका थिए र १४ बर्ष शासन गरी वि.सं. १६३१ मा उनको निधन भयो । उनी सबै प्रजाको घरमा धुवा नआएसम्म (भात नपकाए सम्म) आफू खाना खादैन थिए । यी प्रजात्वसल समाजवादी अवधारणा राजा थिए तर हामीले हामी भित्रको परम्परागत समाजवादको अवमुल्यन ग-यौ र कालमाक्सको हामी अवैतनिक दास त बनेका होइनौ ? हाम्रो रगतमा भएको समाजवादको हामी किन चर्चा गर्दैनौ ? ५ मे. १८१८ सन्मा जन्मिएका कालमाक्र्स सन् १८४१ मा वर्लिन विश्वविद्यालयबाट विद्यापारिधी गरेका थिए । उनको पत्नी सन १८८१ र एकमात्र सन्तान छोरी १८८२ मा मृत्यु भएपछि उनी १४ मार्च १८८३ मा भौतिक रुपले अस्ताए । तर उनी जन्मनु भन्दा अघि देखि नेपाली समाज समाजवादी चरित्रको रहेको र कालमाक्सको नामै नसुन्ने ग्रामिण तथा निरक्षक जनता पनि सामाजिक न्याय र समाजवादी चरित्र व्यवहारमा प्रदर्शन गरिरहेका छन् ।
भरखर सन् २०१९, २० मा कोरोनाको महामारी भयो राज्यले लकडाउनको नाममा राज्य आतंक मच्चायो । घरमा खाने कुरा छैन, काममा जान काम बन्द यातायात बन्द घर बाहिर चोकमा निस्कीए प्रहरीले लाठी बजार्छ । ज्यान मारालाई पनि खान दिएर मात्रै धुन्नु पर्छ तर निर्दाेष जनतालाई सरकारले भोकै थुन्यो । ३ महिनामा नागरिकता हुनेलाई ७ केजी. चामल केही ठाउँमा बाडेर जनता बाँचेका हुन ? राज्यले त भोकभोकै थुनेर जनता मारेकै हो तर सहिष्णु नेपाली जनता भएका कारण आफ्नो गाँस काटेर भएपछि गाउँ टोल छिमेकी बचाए । पाकिस्तानले लक डाउन नै गरेन । पाकिस्तानका तात्कालिन राष्ट्रपति इमरान खानले कोरोनाले केही हजार मर्लान, खान पुग्ने कोठामै बसे भै हाल्यो । घरको खाना ३ दिन पु¥याउन नसक्ने करोडौं छन् । लक डाउनबाट ति सबै मर्छन भन्ने तर्क राखी लक डाउन गरेनन । तर नेपालमा भोको थुनेको मान्छे कसरी बाँच्छ ? भन्ने सोचिएन । नेपाली जनताको विवेकशिल, सहयोगी भावनाले सामुहिक मृत्युवरण गर्नु परेन । यसरी हामी सामाजिक हौ, सामाजिक भएका कारण हाम्रो चरित्र समाजवादी हो तर हामी कालमाक्र्सका
छ
सिद्धान्तले समाजवादी भएका होइनौ वरु हाम्रो संस्कृति परम्परा र हाम्रो डि.एन.ए. कै कारण समाजवादी चरित्रका भएका हौं ।
नेपालको वर्तमान राज्यसत्ता कुन चरित्रको हो ?
२०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानको प्रस्तावनामा…. “समाजवाद प्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न” भनी उल्लेख भएको र उक्त संविधानको धारा १८ मा समानताको हक, धारा २४ छुवाछुत तथा भेदभाव विरुद्धको हक, धारा ३१ शिक्षा सम्बन्धी हक, धारा ३३ रोजगारीको हक, धारा ३४ श्रमको हक, धारा ३५ स्वास्थ्य सम्बन्धी हक, धारा ३६ खाद्य सम्बन्धी हक, धारा ३७ आवासको हक, धारा ४१ मा जेष्ठ नागरिकको हकको व्यवस्था गरी यी सबै नागरिकका अधिकारको जिम्मा जमानी राज्यले लिएको छ अनि संवैधिानिक व्यवस्थाको कार्यन्वयन गर्ने तहमा समेत खाद्य अधिकार तथा खाद्य संप्रभुता सम्बन्धी ऐन २०७५ मिति २०७५।६।२ देखि नै कार्यन्वयन भएको कानूनी व्यवस्था देखिन्छ । संधिवान र कानून पढ्दा चाही नेपालमा समाजवादी राज्य व्यवस्था नै संचालनमा आएको, केही अपुरो कानूनका कारण मात्रै थोरै कार्यन्वयन हुन बाँकी देखिन्छ । तर यी सबै व्यवस्था भनेका कागजी खोस्टामा मात्रै सिमित छन् । यी कागजका बाघ हुन जो व्यवहारमा माखो मार्दैनन । व्यवहारमा हामीले भोगेका अवस्थाहरुः
राज्य श्रोतबाट सर्व सधारणले सिटामोल पनि पाउदैन पैसा नहुँदा सामान्य रोगले पनि अकालमै मर्नुपर्छ ।
*सडकमा शारीरिक तथा मानसिक रोगीहरु यत्रतत्र देखिन्छ तर राज्य भनेको को हो ? त्यो कहाँ बस्छ ? उसले ति बिरामी कहिलै देख्दैन ।
*शिक्षा उच्च घरानीयाको प्रतिष्ठीत कालो बजारी व्यापार भएको छ योगदानमा आधारित र राज्यद्धारा संचालित निःशुल्क भरोसा योग्य शिक्षा हुदैन ।
* खाद्यन्न र आवास सुविधा राज्यसँग अपेक्षा गर्नु भनेको त जघन्य अपराध हुन जान्छ, त्यो कल्पना पनि गर्न सकिदैन ।
* श्रमको हक, रोजगारीको हक नेपालको संविधानमा लेखियो तर कार्यन्वयन विदेशी भुमिको कुन मरुभुमिमा उट चराउनु पर्ने हो, थाहा छैन ।
* हाईस्कुलबाट बिदा हुने दिन अब खाडीमा भेटौला भनेर अंगालो मार्छन हाम्रा विद्यार्थीहरु ।
* हामी रुख जंगलमा काट्छौ अनि वृक्षारोपण पानी सिंजन चाही कागजमै गर्छाै हामीले हाम्रो प्रगति फगत कागजमा गर्छाै, हामी कागजरुपी बादशाह हौ, र कागजकै प्रगतिमा रमाउछौं । हामीले भाषणले, कागजले, गफले नेपालमा समाजवादी व्यवस्था ल्यायौ तर कामले हामी पुँजीवादी सामन्त नै छौ । परनिर्भर र आशामुखि शैली र राज्य दोहनको मानसिकता र राज्यसत्ता प्राप्तीको उद्देश्य भन्दा बढी हाम्रो लक्ष्य भएन ।
राज्य संचालनमा कहाँ चुक्यौ, अव के गर्नु पर्छ ?
(क) कानून कार्यन्वयनमा राज्य संरचना .नेपालमा अहिले पनि सानालाई ऐन र ठुलालाई चैनको अवस्था छ । बनेका कानूनहरु अक्षरशः पालना पनि हुदैन र खारेजी गरिएको पनि छैन । जिउँदा कानूनको लाचार मलामी बनेका छन् जनता ।
(ख) राज्य उत्पादन मुखी हुनै सकेन : कृषि प्रधान देशमा गलैचामा उभिएर सोझामा बसेर गमलामा धान रोपेर कृषि क्रान्ती हुदैन । कमसेकम एउटा घर, एउटा गाऊँ, एउटा वडा, एउटा पालिका एउटा निर्वाचन क्षेत्र, एउटा जिल्लासम्म पनि नमुना घोषणा गरेर आत्मनिर्भर भएको, देखाउन सकेनौ । २०४६ साल अघिको आत्मनिर्भरको अवस्थामा सम्म पु¥याउन कोशिश भएन ।
कृषि, पर्यटन नै नेपालको सम्बृद्धिको जग हो, यसमा राज्यका कुनै अंगले काम गरेन ।
(ग) राज्य श्रमसँग जोडिन सकेन दलाल पुँजीपति र नोकर शाहीको कठपुतली बन्यो-
समाजवादी राज्य व्यवस्थाको सिधा सम्बन्ध श्रमसंग हुनुपर्छ । आफुले खाने खाना आफै पकाउन नजान्ने, आफ्नो लुगा आफै धुन नसक्ने, चार जना उभिएर एकजनालाई काममा जोताउने, बल्लो टेबिलको फायल पल्लो टेबिल पु¥याउन घण्टी बजाएर बोलाउनु पर्ने, फिल्टरको पानी गिलासमा सारेर खान पिउन चाहिने, आफुले दस्तखत बाहेक ४ लाइन पत्राचार लेख्न नसक्ने नेता श्रमिक हुदैन र समाजवादी व्यवस्थाको नेतृत्व गर्नै सक्दैन । नेता मात्र होइन सबै जनता ८ देखि १८ घण्टासम्म कठोर मेहनत गर्नु पर्छ । मेहनत गरेर आत्मनिर्भर हुन भन्दा गलत कार्यले चाडै धनि हुनेको होडबाजीमा राज्यले संरक्षण गर्न पुग्यो ।
(घ) कृषि उपज कसरी घट्यो ? किन घट्यो ? फेरि उत्पादन बढाउन योजना किन बन्न सक्दैन ? राज्यले यसको खोजी नै गरेन ।
(ङ) राज्यले बेचेका ३ दर्जन भन्दा बढी उद्योग नै राज्यको लागि अपुरणीय क्षति भयो । अब कृषिमा आधारित र निर्यातमुखी उद्योग खोल्न किन हतार नगरेको ?
(च) राज्यका संबैधानिक निकायमा आफ्ना अरहौटेहरुले भरेको हुँदा संबैधानिक निकायहरु दुधको साक्षी बिरालोको रुपमा भएकोले संबैधानिक खबरदारी सुन्य भएको छ ।
(छ) देश विकासको लागि साझा सवालमा एकमत हुनु पर्ने राजनैतिक नेतृत्व त्यसतर्फ मनन् कहिल्यै भएन । सरकार बनाउने र भत्काउने कार्य मै राजनैतिक शक्ति बारम्बार विभाजित भए । मन्त्री र पद पाउनु नै राजनीतिको उच्चतम सफलता मानियो ।
(ज) बैंकसँग ऋण गरेर घर बनाउनु र विदेशीसंग ऋण लिएर सडक बनाउनुलाई विकास र सफलता मानियो तर सडक उत्पादनसँग जोडिन पुगेन । पहाड, गाउँ देहातको कृषि उपज शहर आउन सड्क भएन तर पहुँच पुग्नेले एउटै शहरमा ५०० कि.मि. पिच सडक घर घर डुलाइएको छ ।
(झ) किसानलाई उत्पादनमा सुविधा र उत्पादित बस्तुको खरिद जिम्मा राज्यले लिएर जनतामा सर्वसुलभ पु¥याउन कोशिश नै भएन ।
(ञ) देश बिग्रियो भनेर राज्य संचालकलाई मुटु दुखेन ।