Sat. May 18th, 2024

जातिय हिंसा भड्किने संकेत पाएपछि धरानमा निषेधाज्ञा

- धरानमा निषेधाज्ञा

काठमाण्डू, २०८० भदौ ८ गते शुक्रबार । धरानमा जातिय हिंसा भड्किने संकेत लगत्तै सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र भोलि शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा घोषणा गर्नुभएको हो । ‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न–नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत तोकिएका क्षेत्रमा समेत लागू हुने गरी निषेधाज्ञा जारी गरिएको व्यहोरा सूचनामा उल्लेख छ ।

‘धरान उपमहानगरपालिकाका २० वटा वडामा मात्रै १५,००० जना व्यक्तिमा संक्रमण फैलिएको अवस्था छ । मिति २०५०।०४।२६ गते बसेको जिल्ला विपद् व्यवस्थापन समिति, सुनसरीको बैठकले धरान उपमहानगरपालिकालाई डेही संक्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई जनस्वास्थ्य आपतकालीन् अवस्था (Public Health Emergency) क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको छ,’ उक्त सूचनामा उल्लेख छ ।

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नपा १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नपा ६ नं. बाट बराहक्षेत्र नपा वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं.२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गापा वडा नं. ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले सुनसरी जिल्लाका १२ स्थानीय तहहहरूमा डेङ्गी रोगको संक्रमण व्यापकरुपमा फैलिई १६,००० जना भन्दा बढि व्यक्तिहरु सङ्क्रमित भएका १२ जनाको मृत्युसमेत भइसकेको स्मरण पनि गराएको छ ।

यसैबीच सामाजिक सदभाव जोगाउन धरानमा सर्वदलीय अपिल समेत जारी गरिएको छ । संभावित दुर्घटनालाई लिएर धरानका सवै राजनीतिक दलहरुले सद्भावको लागि अपिल गरेका हुन् । संयुक्त वक्तव्य जारी गर्दै दलहरुले सम्भावित दुर्घटना रोक्न भोलि (शनिबार) धरानमा तय गरिएका सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन् । दलहरुले सामाजिक द्वेष तथा भावनामा ठेस पु-याउने गतिविधि नगरिदिन आग्रह समेत गरेका छन् । अपिलमा धरानमा देखा परेको धार्मिक तथा सांस्कृतिक विवाद वार्ताको माध्यमबाट हल गर्न पहलकदमी लिने दलहरुले प्रतिबद्धता समेत जनाएका छन् ।

धरान उपमहानगरपालिकाले सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । नगर प्रमुख हर्क साम्पाङले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गर्नुभएको हो ।

 

‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बीचको एकता सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो । समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकाले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु,’ साम्पाङले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैबीच धरानमा पछिल्लो समय भइरहेको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पूर्वमेयरहरुको बैठकले धरानबासीमा चार बुँदे आह्वान गरेको छ ।

Facebook Comments