Wed. May 1st, 2024

भारतीय अन्तरिक्षयान चन्द्रमामा सफल अवतरण

काठमाण्डू, २०८० भदौ ६ गते बुधबार । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ।

यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो।

गत सप्ताहान्त उस्तै लक्ष्य बोकेको रुसी अन्तरिक्षयान अवतरणका क्रममा त्यहाँ दुर्घटनाग्रस्त भएको थियो।

चन्द्रयान-३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ। पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन्।

अगस्टको सुरुतिर चन्द्रमाको कक्षमा प्रवेश गरेसँगै त्यसमा रहेको ल्यान्डर विक्रमले चन्द्र सतहको तस्बिरहरू पठाइरहेको छ।

चन्द्रयान-३ को सफल अवतरणसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ।

यसअघि अमेरिकी, तात्कालिक सोभियत सङ्घ र चीन सबैले ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए।

अवतरण भएको केही समयपछि विक्रम ल्यान्डरबाट छ वटा पाङ्ग्रा भएको रोभर बाहिर निस्किनेछ र चन्द्रमाको सतहमा रहेका चट्टान र खाडलहरूतिर अघि बढ्दै पृथ्वीमा महत्त्वपूर्ण तस्बिर तथा डेटाहरू पठाउनेछ।

रोभरको पाङ्ग्रामा इसरोको लोगो र प्रतीक चिह्न पनि छन्। पाङ्ग्राहरू गुड्दा तिनले चन्द्रमाको माटोमा इसरोको छाप बस्ने एक अधिकारीले बताए। बीबीसी

Facebook Comments