Thu. May 16th, 2024

बाघको आक्रमणबाट महिला घाइते   

महेन्द्रनगर, २०८० असार २९ गते शुक्रबार । बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका-९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।

बिहीबार साँझ लालझाडी गाउँपालिका-६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी-९ का वडाध्यक्ष किसन रानाले जानकारी दिनुभयो । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।
डगौंरालगायत १०-१२ महिलाको समूह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो । “सबैले हो-हल्ला गरेपछि बाघ भाग्दा डगौंराको ज्यान जोगियो”, वडाध्यक्ष रानाले भन्नुभयो, “आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ ।” यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो । रासस

Facebook Comments