Tue. Dec 24th, 2024

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाण्डू, २०८० असार २७ गते बुधबार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) बाट लामो समय पीडित हुनुभएकी दाहालको आज विहान ८ः३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ ।

भारत, अमेरिका लगायत विभिन्न देशहरुमा उपाचार गराउँदा पनि निको हुन नसकेपछि उहाँलाई दाहाल निवासमै राखिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई आज बिहान अस्पताल लगिएको थियो । जटिल रोगका कारण उहाँ हिँडडुल गर्न पनि सक्नुहुन्नथ्यो । रातोपाटी अनलाईनका अनुसार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । दाहाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो ।

Facebook Comments