Sun. May 19th, 2024

युक्रेनमा आएको बाढीमा परी ३५ जना बेपत्ता 

युक्रेनको खेरसन नजिकैको बाढीग्रस्त गाउँमा शनिबार, जुन १०, २०२३ मा घरहरू पानीमुनि देखिएका छन्। फोटो क्रेडिट: एपी

कीएभ, युक्रेन, २०८० जेठ २८ गते आईतबार । दक्षिणी युक्रेनमा आइतबार आएको विनाशकारी बाढीका कारण सात बालबालिकासहित ३५ जना बेपत्ता भएका छन् ।

खेर्सन क्षेत्रको अग्रपङ्क्तिमा रहेको रूसी नियन्त्रित काखोभका जुन ६ मा बाँध ध्वस्त भएपछि हजारौं मानिस भाग्न बाध्य भएका थिए ।

युक्रेनले निप्रो नदीमा रहेको बाँध रूसले भत्काएको आरोप लगाएको छ भने मस्कोले कीएभले उक्त संरचनामा विष्फोट गराएको आरोप लगाएको छ ।

युक्रेनका आन्तरिक मामिलामन्त्री इगोर क्लाइमेन्कोले दक्षिणी क्षेत्र खेर्सन र माइकोलाइभका ७७ वटा शहर र गाउँ डुबानमा परेको बताउनुभएको ट ।

क्लाइमेन्कोका अनुसार खेरसन क्षेत्रमा सात बालबालिकासहित ३५ जना हराइरहेका छन् ।

बाढीका कारण खेर्सन क्षेत्रमा पाँच जनाको मृत्यु भएको थियो भने माइकोलाइभ क्षेत्रमा एक जनाको मृत्यु भएको थियो ।

ती दुई क्षेत्रमा रहेका तीन हजार ७०० जनालाई सुरक्षितस्थलमा सारिएको उहाँले बताउनुभयो ।

युक्रेनका अभियोजक जनरल एन्ड्री कोस्टिन र अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रतिनिधिले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरेको उहाँको कार्यालयले जनाएको छ ।

“चेर्नोबिलपछिको यो सबैभन्दा खराब वातावरणीय विपत्ति हो, त्यसैले हामी युद्ध अपराधमात्र होइन, पर्यावरणीयस्थलको पनि अनुसन्धान गरिरहेका छौं,” कोस्टिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“अवस्था निकै जटिल छ,” उहाँले भन्नुभयो ।

उहाँले कम्तीमा तीन वटा चिहान, तेल भण्डारण टर्मिनल र फोहोरको थुप्रोलगायत धेरै ‘खतरनाक’ सुविधाहरू जलमग्न भएको उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार कूल ४५० टन टर्बाइन तेल निप्रो र काला सागरको पानीमा खसेको छ । बाँधमा विस्फोटपछि १७० भन्दा बढी अभियोजकहरूले बाँधमा भएको हस्तक्षेपको अनुसन्धान गरिरहेका छन् ।

“अनुसन्धानका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतका हाम्रा सहकर्मीहरू पनि हामीसँगै छन्,” उहाँले भन्नुभयो । एएफपी

Facebook Comments