Thu. Dec 26th, 2024

 क्षमता वृद्विका लागि अघि बढ्न अध्यक्ष ओलीको सुझाव   

काठमाण्डू, २०८० जेठ २७ गते शनिबार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला कर्मचारीलाई अधिकार प्राप्तिको सङ्घर्षसँगै क्षमता वृद्विका लागि योजनाबद्धरुपमा अघि बढ्न सुझाव दिनुभएको छ ।

आज यहाँ आयोजित नेपाल निजामति कर्मचारी सङ्गठनको दोस्रो राष्ट्रिय महिला भेलामा अध्यक्ष ओलीले कुनै पनि क्षेत्रमा सफल हुन क्षमता वृद्धि आवश्यक रहेको बताउनुभयो । “अधिकार प्राप्तिको सङ्घर्षसँगै क्षमता वृद्धि पनि आवश्यक छ, योजनाबद्ध ढङ्गले अधिकारसँगै क्षमतावृद्विका प्रयास योजनाबद्धरुपमा अघि बढाउन यो भेला आयोजना भएको मैले ठानेको छु ।”

उहाँले हकअधिकार प्राप्त गर्न र प्राप्त अधिकारको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले) स्थापना कालदेखिनै समानताको पक्षमा लड्दै आएको भन्दै उहाँले समानताको मान्यताबाट आफूहरु पछि नहटने बताउनुभयो । उहाँले देश र जनताप्रति इमान्दार हुँदै सेवाभावले प्रेरित भइ काम गर्न महिला कर्मचारीलाई सुझाव दिनुभयो ।

राससका अनुसार उहाँले फुकोट-कर्णाली आयोजना भारतीय कम्पनीलाई दिइएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । “फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । कुदिरहेको नदीमै रिजर्भर नबनाइकन चार सय ८० मेगावाट बिजुली निकाल्न सकिन्छ । यो आयोजना नेपालले निर्माण गर्नेबारे मैले २०७६ मै निर्णय गरेको थिए”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले सीमा नाकामा संयुक्त चेकजाँच पोष्ट निर्माणको काम आफ्नै कार्यकालमा सुरु भएको समेत दाबी गर्नुभयो ।

Facebook Comments