Mon. Dec 23rd, 2024

विकासको पर्खाइमा ‘सूर्य ओढार’   

कपिलवस्तु (बुद्धभूमि), २०७९ चैत १३ गते सोमबार ।  अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार । बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ । विगतमा खासै चर्चामा नआएको यो स्थान पछिल्लो समय चर्चामा आएको छ ।

कपिलवस्तुसँगै सीमा जोडिएको अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नं १४ पावरा–विक्रम गाउँ नजिकै छ सो स्थान रहेको छ । स्थानीयले सूर्य ओढारका रूपले चिन्ने गरे पनि यसको महत्व बुद्धसँग जोडिन पुगेको जनाइएको छ । बुद्धसँग सम्बधित रहेर यसको खोज र अनुसन्धानमा लाग्नुभएका पोमनारायण पौडेल सूर्य ओढारका रूपमा चिनिने यो स्थान बुद्धको देशनालय रहेको बताउनुहुन्छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीसमेत रहनुभएका उहाँ भन्नुहुन्छ, “कपिलवस्तु महावन क्षेत्र हो, जसअन्तर्गत यस ठाउँ बुद्धले त्यस बेलाका देवता र दानवलाई देशना गरेको हिसाबले यो ठाउँ महत्वपूर्ण छ । शाक्यमुनी गौतम बुद्धले जेष्ठ पूर्णिमाको राति यहाँ देशना गर्नुभएको थियो ।”

महासमय सूत्र बुद्धकालीन समयमा सुनाउने सूत्र हो । बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र कपिलवस्तु भूमिमा देवतादेखि दानवसम्मलाई महासमय सूत्र सुनाउने गर्नुहुन्थ्यो । त्यो सुनाउने स्थान कपिलवस्तु महावन हो । यो महावनलाई व्याख्या गरिएअनुसार पर्वत शृङ्खला नजिकै, एक नदी र गुफा क्षेत्र रहेको बौद्धग्रन्थमा उल्लेख रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार त्रिपिटकमा गरिएको ब्याख्याअनुसार कपिलवस्तु महावनमा बुद्धले देशना गरेको र जहाँ युगान्दर पर्वत, भागीरथि नदी र एक गुफा रहेको भन्ने छ । यो स्थान कपिलवस्तुका अन्य कुनै स्थानमा नभएकाले ब्याख्या गरिएअनुसार सबै कुरा यहाँ मिलेको उहाँले दाबी गर्नुभयो ।

सूर्य ओढार पहाड नजिकै छ । यसको नजिकै भागीरथि नदी (बाणगङ्गा) बग्छ भने एक गुफा यसलाई सूर्य ओढारका नामले चिनिन्छ । बौद्धग्रन्थमा उल्लेख भएअनुसार यस ठाउँको खोज र अनुसन्धानमा विद्वानहरू लागिपरेका छन् । विपस्यनाका वरिष्ठ सहायक आचार्य अक्कलध्वज गुरुङका अनुसार कपिलवस्तु महावन भागीरथि नदीको आसपास भएको बताउनुभयो । जीवनभर बुद्धका अध्ययनमा लाग्नुभएका अनुसार कपिलवस्तु महावनमा बुद्धले गरेको देशनालयस्थल सूर्य गुफा नै हो ।

बुद्धले २९ वर्ष विताएको तिलौराकोट र बुद्धले बुद्धत्व प्राप्त गरी फर्केर आएको कुदानको ठीक उत्तरमा यो क्षेत्र पर्छ । तिलौराकोटमा हाल उत्खनन भइरहेको छ । यसक्रममा बौद्धकालीन संरचना थप भेटिने क्रममा छन् । पौराणिककालमा भागीरथी नदीले चिनिएको बाणगङ्गा नदी नजिकै रहेको तिलौराकोट र बुद्धले देशना गरेको उत्तर क्षेत्रको भागीरथी नदी नजिकै सूर्य गुफा परेका कारण यसको तथ्यलाई थप पुष्टि गरेको शीतगङ्गा नगरपालिकाका पूर्व उपप्रमुख टीका रेश्मीले बताउनुभयो ।

रासस का अनुसार पावरा–विक्रमका गाउँलेहरूले सूर्य उदाएको देखिएपछि यस ठाउँलाई सूर्य ओढार नामकरण गरेका थिए । स्थानीयबाहेक खासै चर्चामा नआएको यो गुफा बुद्धसँग जोडिएपछि थप चर्चामा आएको छ । बुद्धको खोज र अनुसन्धान भइरहँदा कतिपय किताबमा उल्लेख भएका तथ्य खोज्ने अभियानमा अभियान्ता लागिपरेका छन् । यसले सूर्य ओढारको क्षेत्रलाई बुद्धको देशनालयसँग जोडेको हो । फागुनको दोस्रो हप्ता यहाँ ४० भिक्षुलगायत दर्शनौँको सङ्ख्यामा बौद्ध अनुयायी आएका थिए । उनीहरूले यसलाई थप पुष्टि गर्ने आधार खोजेका थिए ।

बहुसङ्ख्यक थाईलगायत विभिन्न देशका भिक्षु उपस्थित रहेको त्यस दिन सूर्य ओढारको अवलोकन गर्नुका साथै आगामी दिनमा यहाँ गर्नुपर्ने विकासबारे चर्चा गरिएको थियो । यसको प्रचार–प्रसारको मुख्य अगुवाइ शीतगङ्गा नगरपालिकाका पूर्व उपप्रमुख रेश्मीले गर्नुभएको छ । यसको विकास र प्रचार–प्रसारका लागि भिक्षुलगायत बुद्धका अनुयायीको अवलोकन महत्वपूर्ण रहेको उहाँले जनाउनुभयो । भिक्षुसँगै आएका बौद्ध अनुयायीले यहाँको अवलोकन गर्दै वास्तविकता पत्ता लगाउने कोसिस गर्नु यस क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको उहाँले बताउनुभयो ।

बाणगङ्गा नगरपालिका–८ निवासीसमेत रहनुभएका पोमनारायण पौडेलले सूर्य ओढारसम्म पुग्ने बाटोको विकास महत्वपूर्ण रहेको बताउनुभयो । त्यहाँ पुग्ने बाटो कच्ची भएको र थप बाटो विस्तार गर्न जङ्गली क्षेत्र रहेकाले वनसँग समन्वय गरी बाटोको थप विस्तार गर्नुपर्नेमा उहाँको जोड छ ।

देशनालयका लागि त्यहाँ पुग्ने भिक्षुलाई बस्ने प्रबन्ध नभएकोसमेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ,“खुला आकाशमुनि ध्यान गर्दा घामपानी, हावाहुरी र वर्षाले प्रभाव पार्ने हुँदा केही संरचना तत्काल निर्माण गर्नुपर्छ ।”

पावरा विक्रमका स्थानीय भीमबहादुर बुढाले आँखै अगाडि रहेको क्षेत्रको विकासका लागि आफूहरू कम्मर कसेर लाग्ने बताउनुभयो । बुद्धकालीन सभ्यतासँग जोडिएको भूगोल भएकाले यसको विकास के–कसरी गर्न सकिन्छ सरोकारवालासँग मिलेर अगाडि बढ्ने उहाँले जनाउनुभयो ।

Facebook Comments