Sun. Jan 5th, 2025

अन्तर्राष्ट्रिय पानी दिवसको अवसरमा दुई दिने सम्मेलनको आयोजना

भिओके समाचार/काठमाण्डू, २०७९ चैत ६ गते सोमबार । अन्तर्राष्ट्रिय पानी दिवस, २०२३ को अवसरमा काठमाण्डूमा दुई दिने सम्मेलनको आयोजना गरिएको छ ।

खानेपानी मन्त्रालयसँगको सहकार्यमा स्मार्ट वास नेपाल र वाटर एड नेपालले संयुक्त रुपमा “जीवनका लागि वर्षाको पानीको प्रयोग” भन्ने नाराका साथ सो सम्मेलनको आयोजना गरेका हुन । सम्मेलनमा बोल्नुहुँदै नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पम्फा भुसालले विश्वका विकसित देशहरुले जलवायु विगार्न ठूलो भूमिका निर्वाह गरे पनि त्यसको पीडा भने नेपाल जस्ता विकसित देशहरुले भोग्नु परिरहेको गुनासो गर्नुभयो । भुसालले नेपालमा पानीका स्रोतहरुमाथि ब्यापक रुपमा अतिक्रमण भएको पनि बताउनु भयो ।

खानेपानी तथा सरसफाई विभागका महानिर्देशक रमाकान्त दुवाडीले सन् २०३० सम्ममा सवैलाई खानेपानी पुर्याउने लक्ष्य सरकारले राखेको जानकारी दिनुहुँदै बागमती लगायतका नदीहरुको अवस्था खुलाढलको रुपमा रहेको बताउनु भयो ।

अधिकार सम्पन्न बागमती सम्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सीनाले अझ पनि नेपालका ५ प्रतिशत जनता पानीको पहुँचबाट वञ्चित रहेको बताउनु भयो । खानेपानीका मुहानहरुमा फोहोर गर्नेलाई कारवाही गर्ने निकाय समेत नभएको भन्दै अध्यक्ष तिमिल्सीनाले ढलहालेरै बागमती गनाएको र त्यसलाई मुक्त गर्ने अभियानमा आफुहरु लागेको बताउनु भयो ।

पूर्वमन्त्री गणेश शाहले बढ्दो जलबायु परिवर्तनको असरलाई मध्यनजर गर्दै पानीका स्रोतहरुमाथिको अतिक्रमण रोक्न आवश्यक भएको भन्दै वातावरण संरक्षण र पानीका मुहानहरु संरक्षण गर्न जोडदिनुभयो ।

सम्मेलनमा सहभागी वक्ताहरुले आकाशबाट परेको पानी पुन जमिनमा पठाएर पानीको स्रोत संरक्षण गर्न आजैदेखि नलाग्ने हो भने त्यसले विश्वमै पानीका लागि डरलाग्दो युद्ध हुन सक्ने तर्क समेत गरेका छन् ।

Facebook Comments