Fri. May 3rd, 2024

उपराष्ट्रपतिमा जसपाका यादवलाई मत दिने कांग्रेसको निर्णय

काठमाण्डू, २०७९ चैत १ गते बुधबार ।  नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । पर्सी चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ । यस्तै कांग्रेसले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिएको छ ।

कांग्रेसले आउँदो वैशाख १० गते चितवन-२ मा हुने उपचुनावका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ । प्रवक्ता महतले सरकारका विषयमा आजको बैठकमा छलफल नभएको र प्रधानमन्त्रीले ७ गतेसम्म विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार हुने बताउनु भयो ।

Facebook Comments