Fri. May 3rd, 2024

वायुसेवा निगमका दुई महिला पाइलटको पहिलो अन्तर्राष्ट्रिय उडान   

काठमाण्डू, २०७९ फागुन २१ गते आईतबार । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाण्डूदेखि दुबई) भरेका हुन् । पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतको टोलीले आज काठमाण्डू-दुबईका लागि अन्तर्राष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

“पाइलटद्वय भावना पन्त र सिर्जना गिरीले पहिलो पटक अन्तर्राष्ट्रिय उडान गर्नुभएको हो, निगमको उडान इतिहासमा यो पहिलो रेकर्ड पनि हो, आन्तरिकमा महिला पाइलटले उडाएको रेकर्ड छ, तर, अन्तर्राष्ट्रियमा यो पहिलो हो”, उहाँले भन्नुभयो । निगमका अनुसार दुईजना महिला पाइलटले निगमको एयरबस ए-३२० जहाज शनिबार राति ११ बजे काठमाण्डूबाट दुबईका लागि उडान भर्नुभएको हो ।

राससका अनुसार उहाँहरू दुबईबाट यात्रु लिएर बुधबार बिहान काठमाण्डू फर्कने उडान तालिका रहेको छ । बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सम्पूर्ण चालक दलका सदस्यहरू महिला हुने जनाइएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा चारजना न्यारोबडीमा र एक जना वाइडबडीमा गरी पाँच जना महिला पाइलट हुनुहुन्छ ।

Facebook Comments