Mon. Dec 23rd, 2024

राष्ट्रपतिका उम्मेदवार नेम्वाङद्वारा अध्यक्ष राउतसँग भेट   

काठमाण्डू, २०७९ फागुन १९ गते शुक्रबार । नेकपा (एमाले) बाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतसँग भेट गर्नुभएको छ ।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आज एमालेका नेताहरूसहित बुद्धनगरस्थित जनमत पार्टीको कार्यालय पुगेर अध्यक्ष राउतसँग भेट गरी राष्ट्रपतिमा आफूलाई मतदान गर्न आग्रह गर्नुभएको हो । राउतसँगको भेटमा नेम्वाङले राष्ट्रपतिका लागि आफू उपयुक्त पात्र भएको उल्लेख गर्दै मत दिन अनुरोध गर्नुभएको हो । सोही भेटमा एमालेका नेताले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । जनमत पार्टीका अध्यक्ष राउतले भने आफूहरूले आन्तरिक छलफल गरेर मात्रै जवाफ दिने एमाले नेताहरूलाई बताउनुभएको थियो ।

संविधान जारी गर्ने बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको संरक्षण गर्न पनि राष्ट्रपतिको रुपमा राम्रो भूमिका निर्वाह गर्न सक्छु भनेर नेम्वाङले मत माग्नुभएको थियो । आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

Facebook Comments