Wed. Apr 24th, 2024

“नेपाल-बंगलादेश बौद्ध सम्बन्ध” पुस्तक विमोचन

भिओके समाचार/काठमाण्डू, २०७९ फागुन ११ गते बिहीबार । वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठद्वारा लिखित “नेपाल-बंगलादेश बौद्ध सम्बन्ध” पुस्तकको विमोचन गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि बंगलादेशका राजदूत सालाहुद्दिन नोमन चौधरी, पूर्वमन्त्री कृपासुर शेर्पा र काठमाण्डौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले संयुक्त रुपमा सो पुस्तकको विमोचन गर्नुभएको हो ।

विमोचन समारोहमा बोल्नुहुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले वुद्धिजम भनेकै शान्तिको दर्शन भएको बताउनु भयो । शान्तिको दर्शन भनेको सहिष्णुता, सहअस्तित्व, प्रेम, सहकार्य र सद्भावको दर्शन हो भन्दै ओलीले वर्तमान संविधान जारी हुनु भनेको असहिष्णुता विरुद्धको विजय भएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले नेपाल हिंसाको पक्षमा नरहेको र नेपाली जनतामा परस्परमा लडने/लडाउने कुरा कहिल्यै पनि स्विकार्य हुन नसक्ने बताउनु भयो ।

समारोहमा बोल्नुहुँदै नेपालका लागि बंगलादेशका राजदूत सालाहुद्दिन नोमन चौधरीले बंगलादेश र नेपाल विविध सभ्यता, संस्कृति र राजनीतिक सम्बन्धले जोडीएका मित्रदेशहरु भएको बताउनु भयो । राजदूत चौधरीले लेखक हिरण्यलाल श्रेष्ठको पुस्तकबाट आफू अत्यन्त प्रभावित भएको र श्रेष्ठले बुद्ध धर्मको अनुसन्धानको क्रममा बंगलादेशलाई समेत समेटेर बुद्धधर्मको सन्देश विश्वभरी पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणासमेत व्यक्त गर्नुभयो ।

लेखक हिरण्यलाल श्रेष्ठले जन्मका आधारमा बंगलादेश नयाँ जस्तो देखिए पनि सभ्यता र संस्कृतिका हिसावले विश्वकै पूरानो मुलुक भएको बताउनु भयो ।

नेपाल अफ्रो एशियाली जनएकता सङ्गठन र हिरण्य अन्तर्राष्ट्रिय मैत्री पुस्तकालयले ओली निवास बालकोटमा पुस्तक विमोचन समारोहको आयोजना गरेका थिए ।

Facebook Comments