Wed. Jul 3rd, 2024

ठूला समारोह र भोजभतेर नगर्न सरकारको आग्रह

काठमाडौं, २०७६ फागुण १९ गते सोमबार

सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गर्नुभएको छ ।

मन्त्री ढकालले अप्ठेरो अवस्था आएमा अन्तर्राष्ट्रिय हवाई उडान पनि रोक्ने बताउनु भयो । उहाँले विमानस्थल पुरै बन्द गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको बताउनु भयो ।
मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरेको बताउनु भयो ।

‘पहिलो चरणको तयारी अनुसार आवश्यक सावधानी अपनाउने र नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिसकिएको छ, दोस्रो चरणको तयारी अन्तर्गत संक्रमित नेपालीलाई राख्न आवश्यक बेडको व्यवस्था गरिएको छ ।’

मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणले भयावह रुप लिए सबै अस्पताललाई उपचारका लागि प्रयोग गर्न सकिने बताउनु भयो ।
चीनमा कोरोना भाइरसको सकंम्रण घटदै गए पनि कोरिया, खाडी मुलुक र भारतमा कोरोनाको सकंम्रण देखिए नेपालमा भयावह स्थिति आउने ढकालले बताउनु भयो ।
उहाले भन्नु भयो, ‘छिमेकी देशमाहरुमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न थालिएको छ । हामीले पनि केही देशसँगको उडान तत्काल कटौती गर्ने विषयमा छलफल गरिरहेका छौं ।’

विमानस्थलमा थप जनशक्ति र मेसिन

सरकारले त्रिभुवन विमानस्थलको स्वास्थ्य कक्षमा थप जनशक्ति र ज्वरो नाप्ने मेसिन राख्ने भएको छ । थप जनशक्ति र ६ वटा मेसिन राखेर कोरोना संक्रमण देखिएको देशबाट आउने सबै यात्रुको जाँच गरिने मन्त्री ढकालले बताउनु भयो ।

यसैगरी मन्त्रालयले तातोपानी र रसुवागढी नाकामा पनि चिकित्सक खटाइएको छ ।

मन्त्री ढकालको सय दिन

मन्त्री ढकालले कोरोना भाइरसको कारण स्वास्थ मन्त्रालयले सोचेजस्तो उपलब्धी हासिल गर्न नसकेको बताउनु भयो ।। कोरोना भाइरस संक्रमण अपर्झट आइलागेको काम भन्दै यसमा ध्यान केन्द्रित गर्दा अरु काम छुटेको बताउनु भयो ।

उहाँले स्वास्थ्य मन्त्रालयले गरेको कामको सकारात्मक प्रतिक्रिया नदिएको गुनासो पनि गर्नुभयो । ‘चीनबाट १७५ जना नेपालीलाई उद्धार गरेर ल्याउदा पनि अपजसमात्रै आयो’ मन्त्री ढकालले भन्नु भयो । अनलाईन खवरबाट

Facebook Comments